पाल्पा — टिकट वितरणमा असन्तुष्ट जनाएर मनोनयन दर्ता गरेका एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबाट स्वतन्त्र उम्मेदवारी दिएका अधिकांश फिर्ता लिएका छन् ।
वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनमा टिकट वितरणलाई पारदर्शी नभएको आरोप लगाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित १६ जनाले मनोनयन दर्ता गरेका कांग्रेस नेता कार्यकर्ताले फिर्ता गरेका छन् ।
रैनादेवी छहराबाट कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद पोखरेल र उपाध्यक्षमा २०७४ सालकै उपाध्यक्ष चेतकुमारी थापाले उमेदवारी फिर्ता गरेका छन् । पोखरेल रैनादेवी छहरा–४, छहराका वडाध्यक्ष तथा प्रवक्ता थिए । स्वतन्त्र रुपमा छहराको सदस्य पदमा तुल्सीराम बिक, नवहरी पोखरेल, हेमनाथ पोखरेल, नारायण पोखरेल, टोपबहादुर राना लगायतले उमेदवार मनोनयन फिर्ता लिएका छन् ।
एमालेमा जिल्ला सचिवालय सदस्य दमनसिं पाटाले निस्दी गाउँपालिका अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । तानसेन नगरपालिका–५, मा एमालेबाट रुष्ट भएका बुद्धबहादुर रावलले उम्मेदवारी फिर्ता लिएका छन् । तानसेन नगरपालिकामा नेकपा एकीकृत समाजवादीका ६ र दुई जना स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै गठबन्धनलाई असर गर्ने भन्दै रिब्दीकोटमा कांग्रेसका गोविन्द आचार्यले पनि उपाध्यक्षमा दिएको मनोनयन फिर्ता लिए । यसैगरी रिब्दीकोट, माथागढी, रम्भामा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
