छैनन् लिखित प्रतिबद्धता र स्थानीय घोषणापत्र
अर्घाखाँची — अर्घाखाँचीका गाउँगाउँमा उम्मेदवार भोट माग्न घरदैलो अभियानमा व्यस्त छन् । गहुँ–जौ स्याहार्न व्यस्त किसानसँग खेतबारीमै पुगेर मत माग्नेको पनि होडबाजी चलेको छ । तर, भोट किन दिने भन्ने मतादाताको सामान्य प्रश्नमा पनि उम्मेदवारले विश्वासिलो र चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।उम्मेदवारी मनोनयनपछि वडाध्यक्ष, सदस्यसहित पार्टीका नेता–कार्यकर्ता लिएर मत माग्न हिँडेका एमाले र सत्तारूढ गठबन्धनका उम्मेदवारसँग लिखित प्रतिबद्धता र घोषणापत्र नै छैनन् ।
सन्धिखर्क नगरपालिकामा एमालेले कृष्णप्रसाद श्रेष्ठ र गठबन्धनका तर्फबाट कांग्रेसले शान्ता भण्डारीलाई नगर प्रमुखका उम्मेदवार बनाएका छन् । किसानको खेतबारी र घरदैलोमा पुग्दै मत माग्दा मतदाताले उनीहरूलाई के छन् त तपाईंहरूका एजेण्डा ? नगरलाई कस्तो बनाउनुहुन्छ ? तपाईंलाई नै भोट किन दिने भन्नेजस्ता प्रश्न गर्दा भण्डारी र श्रेष्ठले मौखिक जवाफ दिने गरेका छन् । टोलटोलमा कार्यकर्ता भेला गर्ने र मौखिक आश्वास बाँड्दै सन्धिखर्क नगरपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार निर्माणसहित समग्र विकासमा नमुना नगरपालिका बनाइने दुवै उम्मेदवारले प्रतिबद्धता जाहेर गर्छन् ।
महिलासँग भोट माग्दा महिलालाई उद्यमशील बनाउने, विभिन्न कार्यक्रम ल्याउने, दलितकहाँ पुग्दा दलितलाई उद्यमी, कृषकहाँ पुग्दा कृषिमा अनुदान दिने, व्यवसायी कृषि उद्यमको काम गर्ने आश्वासन दिन्छन् । यसरी मौखिक आश्वासन दिँदा भाषणैपिच्छे फरक–फरक आश्वासन बाँड्ने गरेको स्थानीय बताउँछन् । एउटै गाउँमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूको फरक–फरक विकासका मौखिक आश्वासन सुन्दा कसले भनेको कुन वाचा ठीक हो भन्नेमा मतदाता नै अलमलमा परेका छन् ।
शितगंगा नगरपालिका प्रमुखका उम्मेदवार कांग्रेसका छविलाल पौडेल र एमालेका वसन्त श्रेष्ठ पनि लिखित प्रतिबद्धताबिनै घरदैलोमा पुगेर मत मागिरहेका छन् । दिनमा आठ/दसवटा कार्यक्रममा फरक–फरक विकासका एजेण्डा सुनाउँदै मत मागिरहेको स्थानीयले बताए । ‘पाँच वर्षसम्म नगरपालिकामा केही काम भएन,’ श्रेष्ठले भने, ‘मैले नमुना काम गर्छु । त्यसैले मलाई भोट दिएर जिताउनूस् ।’ उनले टोलैपिच्छे र व्यक्तिपिच्छे मत माग्दा फरक–फरक आश्वासन बाँडेका छन् । चार दलीय गठबन्धन भएकाले जितमा ढुक्क रहेका पौडेलले यसअघि कांग्रेस नेतृत्वमा भएका नगरपालिकाका कामलाई निरन्तरता दिएर पूरा गर्न र जनताको मागअनुसार थप काम गर्न आफू अघि सरेको बताए । ‘जनताका समस्या जे छन्, तिनै विकासका काम गर्छु,’ उनले भने, ‘नगरलाई पूर्वाधार विकास, सडक पिच, शिक्षामा सुधार, सबै नागरिकलाई स्वास्थ्यको सहज पहुँच, घरघरमा खानेपानीका धारा, कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रबाट युवालाई स्वरोजगार बनाउने मेरो लक्ष्य हो ।’
बुटवलमा व्यवसाय गर्दै आएका टेकराज न्यौपानेले एमालेबाट पाणिनि गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले एमाले कार्यकर्ताबीच छलफल, भेला, बैठक सकेर गाउँटोलमा पुगेर समृद्ध गाउँपालिकाको लागि आफूलाई जिताउन मत मागिरहेका छन् । कांग्रेसबाट पालिका अध्यक्षमा पुनः उम्मेदवारी दिएका अच्युत गौतमले पनि विकासका काम गर्छु भनेरै भोट मागिरहेका छन् । उनीहरू दुवै जनासँग लिखित घोषणापत्र छैन ।
एमालेबाट भूमिकास्थान नगरपालिका प्रमुखमा पुनः उम्मेदवारी दिएका रेशम थापाले आफूले पाँच वर्षमा गाउँमा मुख्य सडक पिच गरेको, नगरपालिकामा शून्य सहनशिलता कायम गरेको र अबको पाँच वर्षमा गाउँमा युवालाई स्वरोजगार बनाउने उद्घोष गर्दै मत मागिरहेका छन् । मतदाताले के छन् त अब विकास गर्ने प्रतिबद्धता भन्दा मुखले एजेण्डा बताउँछन् ।
मालारानी गाउँपालिकामा एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका दलबहादुर भट्टराई र गठबन्धनका तर्फबाट माओवादीबाट उम्मेदवारी दिएका पदम क्षेत्रीसँग पनि लिखित एजेण्डा छैनन् । ‘मलाई भोट दिएर जिताउनूस् । जे आवश्यकता छ, त्यही काममा बजेट पार्छु,’ उनले मतदातासँग मत माग्दै भनेका छन्, ‘विकासमा नमुना नै काम गर्छु ।’ छत्रदेव गाउँपालिकाका उम्मेदवार पनि लिखित प्रतिबद्धताबिनै मत माग्दै हिंडिरहेका छन् ।
आफ्नो पालिकामा मत माग्दै गर्दा कुन वडामा के कस्ता विकास योजना चाहिन्छन्, के समस्या छन् र समग्र पालिकाको विकास योजना के हुन्छ भन्ने यथेष्ठ लिखित घोषणापत्र उम्मेदवार एवं दलले तयार नगर्दा एउटै गाउँमा मत माग्दा उम्मेदवारले केही बिर्सिने, केही दोहोरिने र केही नयाँ हुने गर्छन् ।
