संयुक्त घोषणापत्रको तयारी गरेका गठबन्धनका उम्मेदवार तालमेल नभएपछि आफ्नै बनाउने कसरतमा
गोरखा/पर्वत — गोरखामा उम्मेदवारहरू घरदैलोमा पुगे पनि अधिकांशले भने चुनावी प्रतिबद्धता पत्र बल्ल मात्र तयार पार्दै छन् । वडा र पालिकाको समग्र विषय समेटेर तयार गरेको प्रतिबद्धतापत्र केही उम्मेदवारले मतदातामाझ पुर्याउन सामाजिक सञ्जालको प्रयोग पनि गरेका छन् ।
एमालेले वैशाख ९ मा पालिकागत रूपमा निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको थियो । कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायत क्षेत्रमा गर्ने कामका बारेमा ११ वटै गाउँपालिकामा छुट्टाछुट्टै प्रतिबद्धतापत्र निर्माण गरिएको एमाले सचिव काजीराम रोकाले बताए । चुनावी तालमेल भए संयुक्त घोषणापत्रको तयारीमा रहेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई भने यतिखेर प्रतिबद्धतापत्र तयार गर्ने हतारो छ । पालिकामा भागबन्डा नमिलेपछि गठबन्धन दलबीचको तालमेल भाँडिएको थियो । शुक्रबार साँझ घोषणापत्र सार्वजनिक गरेको सहिद लखन थापा गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका रमेश थापाले बताए । आगामी वर्ष भौतिक पूर्वाधारअन्तर्गत गाउँपालिकाको मुख्य सडकको कालोपत्र, अन्य पूर्वाधार विकास, जलवायु परिवर्तनदेखि कृषि र पर्यटनका विषय पनि घोषणापत्रमा समेटिएको उनले बताए । ‘एक महिनादेखि घरदैलो गरिरहेका छौं,’ उनले भने, ‘चुनावी तालमेल भए संयुक्त घोषणापत्र बनाउनुपर्छ भनेर हतारो गरेनौं, अहिले एक्लाएक्लै उमेदवारी दर्ता भएपछि आफ्नै घोषणापत्र बनाएका हौं ।’
केन्द्रबाट पनि चुनावी घोषणापत्र बनेर जिल्ला आएको र पालिकागत रूपमा पनि छुट्टै घोषणापत्र निर्माण गरेको जनता समाजवादी पार्टीका तर्फबाट भीमसेन थापा गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार रोहित पाण्डेले बताए । तर चुनावी घोषणापत्र मतदाताको हातमा पुगिसकेको छैन । ‘पालिकागत रूपमा समसामयिक समस्यालाई समेटेर घोषणापत्र तयार भएको छ, तालमेलको विषयमा अलमल हुँदा घोषणापत्र पनि मतदाता माझ पुर्याउन अलमलमा परेका हौं,’ उनले भने ।
पुरानै प्रतिबद्धता लिएर घरदैलो
पर्वतमा उम्मेदवारहरू प्रचारको रस्साकसीमा व्यस्त छन् । पहिलो कार्यकाल अलमलमै बिताएका स्थानीय सरकारको दोस्रो कार्यकालका उम्मेदवार पनि नयाँ एजेन्डा र प्रतिबद्धताबिनै मतदाताहरूको घरदैलोमा पुगेका छन् । उम्मेदवारले सामाजिक र चेतनाको विकासभन्दा सडक, बिजुली, खानेपानीलगायत कुरा मात्रै घोषणापत्रमा समेटेर चुनावी प्रचारमा लागेका छन् । उम्मेदवार सबैजसोले पुरानै एजेन्डा, विकासका योजना लिएर घरदैलोमा छन् । सबैजसो पालिकाले अधुरा सडक कालोपत्रे, टोलटोलमा सडक, विद्युतीय काठे पोल विस्थापित गरेर फलामे पोल फेर्ने, खरका छाना विस्थापित गर्ने लगायतका एजेन्डा घोषणापत्रमा समावेश गरेका छन् ।
अघिल्लो पटक घरघरै उद्यमी, एक गाउँ एक उत्पादनलगायतको नारा ल्याएको फलेबासका नगरप्रमुख पदमपाणि शर्माले सोही नाराका साथ चुनावी प्रचारमा छन् । फलेबासमै अघिल्लो पटक शर्मासँगै उम्मेदवारी दिएर पराजित उम्मेदवार गंगाधर तिवारीले मतदातालाई नगरप्रमुखको गाडी एम्बुलेन्स बनाउने, कार्यकालभरिको सरकारी सुविधा नगरवासीकै स्वास्थ्योपचारमा खर्च गर्नेलगायत एजेन्डा प्रतिबद्धतापत्रमा समावेश गरेका छन् ।
कुस्मा नगरपालिकाका संस्थापक नगरप्रमुख रामचन्द्र जोशी पनि दोस्रो कार्यकालका लागि प्रमुखमै उम्मेदवारी दिएका छन् । आफू अल्पमतमा परेका कारण अघिल्लो कार्यकालमा अपेक्षित काम गर्न नसकेको जोशीको घोषणापत्रमा उल्लेख छ । खानेपानी, सिँचाइ, विद्युतीकरण, शिक्षा, स्वास्थ्यलगायत पुरानै विषयलाई घोषणापत्रमा समावेश गरेका जोशीले आगामी कार्यकाल बहुमतसहित विजयी भएमा नगरलाई स्मार्ट सिटी बनाउने, बजारक्षेत्रका सबै सडक कालोपत्रे गर्ने, सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्नेलगायत विषय समावेश गरेका छन् । जोशीका प्रतिस्पर्धी एमालेका गणेश पौडेल पनि खानेपानी, सडक, विद्युत्लगायत एजेन्डा लिएर चुनावी प्रचारमा छन् ।
