उपप्रमुख भएर अनुभव बटुलिसकेका महिला जनप्रतिनिधि यस पटक प्रमुखमा चुनाव लड्ने
रौतहट — स्थानीय तहमा ५ वर्ष उपप्रमुख भएर अनुभव बटुलिसकेका मधेसका महिला जनप्रतिनीधि यस पटकको निर्वाचनमा नगरप्रमुखमा चुनाव लड्ने भएका छन् । उनीहरू पुरुष उम्मेदवारलाई टक्कर दिँदै चुनावी मैदानमा उत्रिएका हुन् । रौतटहमा स्थानीय तह निर्वाचनमा १५ भन्दा बढी महिला प्रमुख पदको उम्मेदवार छन् ।
गौर नगरपालिकाका निवर्तमान उपप्रमुख किरण ठाकुरले जनता समाजबादी पार्टीबाट प्रमुख पदमा उम्मेदबारी दिएकी छन् । उनी जिल्लाकै सक्रिय महिला जनप्रतिनिधिमा गनिन्छन् । निवर्तमान नगरप्रमुख अजय गुप्तासहित पुरै कार्यकाल बिताएकी ठाकुर विभिन्न खाले चुनौतीको सामना गर्दै प्रमुख पद हाक्ने आँट र हिम्मतका साथ अघि बढेको बताउँछिन् । ‘महिलाले पनि नगरपालिका हाँक्न सक्छ भन्ने उदाहरण बन्न चाहन्छु । हामीमा पनि जोश र जागर छ,’ उनले भनिन्, ‘मधेसका महिला हौं । त्यति कमजोर नठानियोस् । यसपालि जितेरै देखाउँछु ।’ निवर्तमान नगरप्रमुख अजय गुप्ता, एकीकृत समाजवादीका शम्भु साह, नेपाली कांग्रेसका मोहन यादव र जसपाका ठाकुरबीच कडा प्रतिस्पर्धा छ । ठाकुर उपप्रमुख क्लबकी पूर्वअध्यक्ष पनि हुन् ।
नगरप्रमुख र उपप्रमुखबीचको झगडा मिलाउन उनकै नेतृत्वमा क्लब गठन भएको थियो । संविधानले दिएको अधिकार खोस्न थालेको भन्दै जिल्लाभरिका स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच सुरुदेखि नै झगडा थियो । ठाकुरकै मध्यस्थतामा धेरै नगरपालिकाको विवाद साम्य भयो । निर्वाचनको मैदानमा होमिएकी अर्का महिला उम्मेदवार हुन अंशु सिंह । सविधानसभा सदस्य बबन सिंहका श्रीमती अंशु यसअघि राजेदेवी नगरपालिकामा उपप्रमुख थिइन् । अहिले सोही नगरपालिकामा एमालेले उनलाई प्रमुख पदमा उठाएको छ । उपप्रमुखको अधिकार खोसेर आफूखुसी काम गर्न थालेपछि निवर्तमान नगरप्रमुख धीरेन्द्र सिंह र अंशुबीच कैयौं पटक विवाद भयो । नगरपालिकाबाट सुरु भएको विवाद जिल्ला प्रशासनसम्म पुग्यो । तर पनि मिल्न सकेन ।
अंशुले उसैबेला आगामी चुनावमा नगरप्रमुख पदमा जितेर सुशासन र विकास कस्तो हुन्छ भन्ने देखाउला भन्दै चुनौती दिएकी थिइन् । ‘जनतासित गरेको बाचा पूरा गर्ने दिन आउन लागेको छ । महिला कति शक्तिशाली हुन्छ भन्ने वैशाख ३० पछि थाहा हुन्छ,’ उनले भनिन्, ‘चुनौतीबीच चुनावमा होमिएको छु । जनताको मन जितेर यसपालि काम गर्छु ।’ राजदेवीमा कांग्रेसका धीरेन्द्र सिंह, एकीकृत समाजवादीका भिखारीप्रसाद यादव, जसपाका तिलु सिंह, लोसपा नबलकिशोर साह र एमालेकी अंशुबीच कडा टक्कर छ । ‘पुरुष उम्मेदवारसित टक्कर लिनु छ । यो चानचुने होइन,’ उनले थपिन् ।
ईशनाथ नगरपालिकामा कांग्रेस नेतृ अञ्जु झा पनि चुनावी मैदानमा छिन् । उनी लामो समयदेखि कांग्रेसमा सक्रिय छिन् । ‘स्थानीय तहमा देखिएको बेथिति हटाउने र भ्रष्टाचारमुक्त नगर बनाउने अभियानमा लाग्ने छु,’ उनले भनिन्, ‘मेरो उम्मेदवारी जनताको सेवाको लागि हो । मधेसमा महिला प्रमुखलाई धेरै चुनौती छ । तर म सहजै चुनौतीको सामना गर्न सक्छु ।’ यो नगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदबार सन्तोष मेहताले जितेका थिए । पछि उनी एमालेमा प्रवेश गरे । अहिले मेहता, झा र तमलोपाका उम्मेदवार कौशल्यादेवीबीच प्रतिस्पर्धा छ । कांग्रेसले टिकट नदिएपछि कौशल्या तमलोपा प्रवेश गरेकी हुन् ।
जिल्ला निर्वाचन कार्यालयका गौरका निर्वाचन अधिकारी छोटेलाल दासले यसपटक प्रमुख पदमा महिला उम्मेदवारको संख्या धेरै रहेको बताए । २०७४ मा भएको पालिका निर्वाचनमा मौलापुरबाहेक प्रमुख पदमा महिला उम्मेदवार थिएनन् । मौलापुरमा यस पटक पनि महिला उम्मेदवार एमाले नेतृ रेणुकुमारी साह चुनावी मैदानमा छन् । यसअघि साह नगरप्रमुख थिइन् । मधेस प्रदेशकै उनी एक्ली महिला नगरप्रमुख थिइन् । राजपुर नगरपालिकाको नगरप्रमुख पदमा शर्मिका कोइरालालाई एमालेले उम्मेदबार बनाएको छ ।
कांग्रेसको गढ मानिने राजपुर कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको गाउँ हो । आलम बम बिस्फोट मुद्दामा जेलमा छन् । राजपुरमा आलमका छोरा डा. राजीव आलमलाई कांग्रेसले नगरप्रमुख उम्मेदवार बनाएको छ । यो नगरपालिकामा जसपाका जैद आलम पनि बलिया उम्मेदबार मानिन्छन् । जैद पूर्वमन्त्री स्व. मुस्ताक आलमका छोरा हुन् । परोहा नगरपालिकामा जनमत पार्टीले निर्मला पटेललाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । राजदेवीमा नगर प्रमुखमा अनिता सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । एमालेले दुर्गाभगवती गाउँपालिकाको अध्यक्षमा रिंकु यादवलाई उम्मेदवार बनाएको छ । यो नगरपालिकामा माओवादीका शम्भु सिंह र कांग्रेसका अरुण साह चुनावी मैदानमा छन् । देवाहीगोनाही नगरपालिकाको प्रमुखमा जसपा नेपालले तत्कालीन नगर प्रमुख धर्मेन्द्र पटेलकी पत्नी मधुलिका रानी पटेललाई उम्मेदवार बनाएको छ ।
नगरप्रमुख पदमा सबैभन्दा बढी ईशनाथ नगरपालिकामा महिला उम्मेदवार छन् । यहा कांग्रेसकी अञ्जु झा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट कौशल्या देवी, स्वतन्त्र उम्मेदवार नगिना देवी र मुलली देवीले उम्मेदबारी दिएका छन् । फतुवा विजयपुरमा पनि प्रमुख पदमा महिला उम्मेदबार छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमत पार्टीले महिलालाई पालिका प्रमुखमा उम्मेदवार बनाएको छ । एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट भने प्रमुखमा महिला उम्मेदवार छैनन् । माओवादीका जिल्ला इन्चार्ज युवराज भट्टराईले स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा आफ्नो पार्टीले महिला उम्मेदवार बनाउने अवस्था नै नरहेको बताए । ‘सबै पालिकामा पुरुष उम्मेदवार नै बलियो देखिए,’ उनले भने, ‘महिलालाई उमप्रमुखमा स्थान दिएका छौं ।’
वडामा सबै महिला उम्मेदवार
जनकपुर– धनुषाको धनौजी गाउँपालिकाको एउटा वडामा अध्यक्षसहित सबै उम्मेदवार महिलालाई बनाइएको छ । जनता समाजवादी पार्टीले धनौजी गाउँपालिकाको वडा नम्बर ४ मा अध्यक्षसहित सबै उम्मेदवार महिलालाई बनाएको हो । जसपाले उक्त वडाध्यक्षमा रेखा मण्डललाई उम्मेदवार बनाएको छ । यस्तै वडा सदस्यामा ममताकुमारी मण्डल, शैलीदेवी ठाकुर, सञ्जुदेवी मण्डल र दलित महिला सदस्यमा सतीदेवी दासलाई उम्मेदवार बनाएको छ ।
अध्यक्षमा श्रीमान्, वडाध्यक्षमा श्रीमती उम्मेदवार
राजविराज– स्थानीय तहको निर्वाचनमा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक दम्पती उम्मेदवार भएका छन् भने बुबा र छोरा पनि गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार छन् । जनता प्रगतिशील पार्टीबाट गाउँपालिका अध्यक्षमा प्रभाकर यादव तथा वडा नम्बर ७ को अध्यक्षमा उनकी श्रीमती प्रमिलादेवी उम्मेदवार भएकी छन् । उनीहरू दुवै जना गत स्थानीय निकायको निर्वाचन र उपनिर्वाचनमा छिन्नमस्ता–७ का वडाध्यक्ष निर्वाचित भएका थिए ।
अघिल्लो निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट वडाध्यक्षमा प्रभाकर निर्वाचित भएका थिए । वडाध्यक्ष निर्वाचित भएको केही दिनमै उनी जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भए । रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदा प्रमिलादेवी राजपाबाट विजयी भएकी थिइन् । छिन्नमस्तामा यसअघि अध्यक्ष रहेका सूर्यनारायण मण्डल र उनका छोरा तेजनारायण अध्यक्ष पदका उम्मेदवार छन् । सूर्यनारायण नेपाल सद्भावना पार्टीबाट र छोरा तेजनारायण स्वतन्त्र उम्मेदवार हुन् । अघिल्लो निर्वाचनमा तत्कालीन नयाँशक्ति पार्टीबाट सूर्यनारायण विजयी भएका थिए । जसपाले यस पटक सत्यनारायण यादवलाई उम्मेदवार बनाएको छ ।
