म्याग्दी/लमजुङ — हिमालपारिका जिल्लाहरू मुस्ताङ र मनाङमा स्थानीय तह निर्वाचनका लागि मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्री पुगेको छ । दुवै जिल्लामा हेलिकोप्टरमार्फत सामग्री ढुवानी गरिएको हो ।
मुस्ताङका लागि आयोगले सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्याएको हो । मतपत्र, अनुसूची फारमसहित आयोगले पठाएका ५४ प्रकारका सामग्री आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साथै जिल्लामा खरिद गरेका अन्य १५ प्रकारका सामग्री मतदान केन्द्रअनुसार तयार बनाएर राखिएको छ । ‘मतपत्रसमेत निर्वाचनका लागि आवश्यक सबै सामग्री मुस्ताङ आइपुगेको छ । मतपत्रबाहेक अन्य निर्वाचन सामग्रीका पोका बनाई तयारी अवस्थामा राखेका छौं,’ जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले भने, ‘मुस्ताङमा ३८ मतदान केन्द्र छन् । सबैमा खटिने कर्मचारी सूचीकृत गर्ने काम भइरहेको छ । मतदान केन्द्रमा कम्तीमा तीन दिनअघि पुग्नुपर्ने र सबैभन्दा टाढाका सम्जुङ र साङ्तामा पुग्ने कर्मचारी कम्तीमा एक साताअघि तयारी अवस्थामा राख्छौं ।’ मुस्ताङमा १० हजार ४ सय ८५ जना मतदाता छन् ।
सबैभन्दा कम मतदाता बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत समर आधारभूत विद्यालय मतदान केन्द्रमा ३४ जना छन् भने बढीमा थासाङ गाउँपालिकाको जनआदर्श मावि कोवाङ मतदान केन्द्रमा ६ सय ३४ छन् ।
मनाङमा मतपत्रलगायत निर्वाचन सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको छ । काठमाडौंबाट ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगायत आयोगले पठाउनुपर्ने सबैखाले निर्वाचन सामग्री हेलिकप्टरमार्फत ल्याइएको हो । सेनाको हेलिकोप्टरले बिहीबार सदरमुकाम चामेमा रहेको इन्द्रदल गुल्ममा मतपत्रसहितको निर्वाचन सामग्री झारेको छ ।
मतपत्रलाई सुरक्षितसाथ राखिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । उनका अनुसार निर्वाचनका लागि चाहिने सामग्रीलाई जिल्ला निर्वाचन कार्यालयलाई बुझाएर मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मामा राखिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले मतपत्र सुरक्षाकर्मीको सुरक्षामा राखिएको बताए ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार मनाङमा ५८ प्रकारको निर्वाचन सामग्री आएको छ । यसमा मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र, छेकबार, स्ट्याम्प प्याड, स्वस्तिक छापलगायत छन् । उनका अनुसार सदरमुकामभन्दा बाहिरका पालिकाका लागि प्राथमिक स्वास्थ्य बक्स पनि छ । मनाङमा हरेक वडामा एउटा मतदानस्थल छ । मनाङ ङिस्याङ र नासों गाउँपालिकामा ९/९ साथै चामे र नार्पाभूमि गाउँपालिकामा ५/५ वटा मतदान स्थल छन् । सबै मतदानस्थलमा १ हजारभन्दा कम मतदाता संख्या भएकाले केन्द्र थप भएको छैन । मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् । यसमा महिला संख्या ३ हजार ३ सय ४८ र पुरुष ३ हजार १ सय ४८ छन् ।
