दाङ — कोरोना विशेष अस्पताल बेलझुन्डीमा एक वर्षदेखि कार्यरत डा. कमल खड्काले ज्यान जोखिममा राखेरै सयौं बिरामीको उपचार गरेका छन् । दिनभर कोरोना संक्रमितको उपचारमा खटेर बेलुका घर पुग्नुपर्छ । यसले परिवारका सदस्यहरू पनि जोखिममा परेका छन् ।
उनलाई भने अस्पताल र घर आवतजावत गरिरहनुपरेको छ । स्वास्थ्यकर्मीलाई छुट्टै बसोबासको व्यवस्था नहुँदा उनी अस्पतालको काम सकेर घर जानुपरेको हो ।
कोरोनाको उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई दिने भनेको सेवा सुविधा पनि चार महिनादेखि बन्द छ । सुरुमा कोरोनाबारे धेरै नै त्रास थियो, स्वास्थ्यकर्मीसमेत त्रासमा थिए । बीचमा कोरोना हराउन थाल्यो भन्ने भयो । अन्य मानिसलाई जस्तै स्वास्थ्यकर्मीलाई समेत डर लाग्न छाड्यो तर अहिले फेरि डर बढ्न थालेको छ ।
दिनहुँ जिल्लामा मात्रै एक सयको हाराहारीमा कोरोना संक्रमित थपिँदै गएका छन् । अस्पतालमा ३५ शय्या मात्रै छन् तर बिरामी ४१ जना पुगेका छन् । सबै अक्सिजन चलाउनुपर्ने बिरामी हुन् । एक–दुई दिनको फरकमा बिरामीको मृत्यु पनि भइरहेको छ । अक्सिजन अभाव छ । अस्पतालमा जनशक्तिको कमी छ । अन्य आवश्यक स्वास्थ्य सामग्री पनि सकिँदै गएका छन् तर पनि कसैको चासो छैन । यसले डा. खड्काको मन साह्रै दुखाएको छ ।
‘सबैजसो बिरामी अक्सिजन चढाउनुपर्ने खालका छन् । अहिले लक्षण नभएका बिरामी नै छैनन् । यसले हामीलाई उपचारमा समस्या भएको छ,’ उनले भने, ‘अक्सिजन अभाव हुन थालेको छ । बिरामी राख्ने ठाउँ छैन । जटिल खालका बिरामी पनि अस्पतालमा राख्न सक्ने अवस्था छैन ।’ स्वास्थ्यकर्मीहरू समेत जोखिममा काम गर्न बाध्य भइरहेको उनले बताए । ‘खानासम्म आफैं पैसा तिरेर खाइरहेका छौं । परिवारलाई संक्रमण सर्ने डर छ,’ उनले भने । कोरोना अस्पताल र बिरामीप्रति सम्बन्धित निकायबाट चासो र चिन्ता नहुँदा यहाँ कार्यरत स्वास्थ्यकर्मीको मनोबल पनि कमजोर हुँदै गएको छ । अस्पतालमा चार मेडिकल अफिसर र १२ नर्सिङ स्टाफ छन् । यतिले बिरामीको उपचार गर्न कठिन भइरहेको उनले बताए । जनशक्ति थप्न आवश्यक रहेको उनले बताए ।
कोरोना विशेष अस्पतालमा रातदिन तनाव बेहोर्ने अर्का स्वास्थ्यकर्मी हुन्– द्रोण वली । उनी अस्पतालमा व्यवस्थापक पनि छन् । लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष अस्पतालको व्यवस्थापन समिति संयोजक तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी थिए । प्रदेशले नै सबै व्यवस्थापन गर्ने कुरा थियो तर अहिले न मन्त्री छन्, न अन्य कुनै सहयोग । अस्पतालको सम्पूर्ण भार वलीको काँधमा आएको छ ।
एक वर्षदेखि उनी निरन्तर अस्पताल व्यवस्थापन र उपचारमा खटिरहेका छन् । अस्पतालमा शय्या अभाव भइरहेको छ, अक्सिजन अभाव हुँदै छ, खाना खर्च छैन, अन्य अत्यावश्यक सामान छैनन् । दिनहुँ बिरामीको फोन आइरहन्छ तर राख्ने ठाउँ छैन । अस्पतालमा कसैले चासो नदिंदा समस्या भइरहेको वलीले बताए ।
‘रातदिन बिरामीको फोन आइरहन्छ । एउटा शय्या चाहियो भन्छन् । अस्पतालमा शय्या खाली छैन । भुइँमा राखेर उपचार भइरहेको छ,’ उनले भने, ‘सबैजसो अक्सिजन चाहिने बिरामी छन् । अक्सिजन पनि अभाव भइरहेको छ । कसरी सेवा दिने ?’ अस्पताल सञ्चालनमा प्रदेश सरकार र जिल्लाका स्थानीय तहले जिम्मेवारी बहन नगर्दा समस्या भइरहेको हो ।
