भक्तपुरमा ६४ शय्याको आइसोलेसन

वैशाख १४, २०७८

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर अस्पतालमा कोरोनाका बिरामी उपचारलक्षित २५ शय्याको हाइकेयर युनिटसहित ६४ शय्याको आइसोलेसन कक्ष सञ्चालनमा आएको छ ।

अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार आइसोलेसन कक्षमा ६ शय्याको आईसीयू, २५ शय्याको हाइकेयर र ३३ शय्याको जनरल युनिट छ । हाल अस्पतालको आइसोलेसनमा २३ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जना आईसीयूमा छन् ।

कोरोना महामारीकै अवधिमा प्रदेश अस्पतालहरूमध्ये सेवा र पूर्वाधारमा भक्तपुर अस्पताल उत्कृष्टमा परेको थियो । यसले २ सय शय्या क्षमतामा विस्तार गर्ने लक्ष्य राखेको मेसु गौतमले बताइन । चालु वर्षभित्रै अस्पतालमा शय्या संख्या ७५ बाट २ सयमा विस्तार गर्ने योजना छ ।

श्री चन्द्रलोक डिस्पेन्सरीको नामबाट १९६१ मा स्थापित १५ शय्याको यो अस्पताल २०६० देखि ७५ शय्याको बनेको हो । दिन प्रतिदिन बिरामीको चाप बढ्दै गएकाले शय्या विस्तार गर्नैपर्ने देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully