ललितपुर — कोभिड अस्पतालका रूपमा सञ्चालन गर्न सरकारसँग ‘एमओयू’ गरेको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले तयारी पूरा नगर्दा उपचारका लागि आएका बिरामी फर्कन थालेका छन् ।
संक्रमित प्रत्येक दिन बढ्दै गए पनि व्यवस्थापनप्रति अस्पतालको ध्यान पुगेको छैन । श्वासप्रश्वासमा गम्भीर समस्या देखा परेकाहरू बढी समस्यामा छन् । ज्वरोले बिरामी भएकी श्रीमतीलाई लिएर जाँदा अस्पतालले भर्ना नलिएको जनकपुरका रमेश खातुनले बताए । इमाडोलमा स्टेसनरी पसल गर्ने उनकी श्रीमतीलाई कन्ट्याक्ट ट्रेसिङमा परेपछि जाँच गर्दा पोजिटिभ देखिएपनि अस्पतालले भर्ना नलिएको हो ।
अस्पताल प्रशासनका अनुसार किस्टमा २० आईसीयू बेड र ६ भेन्टिलेटर छन् । कोभिडका चार जना सिकिस्त बिरामीबाहेक सबै पहिलेकै बिरामीले भरिएका छन् । किस्टका चिफ अपरेटिङ अफिसर अमिस पाठकले सरकारी रेटमै १५ दिनभित्र कोभिड बिरामीका लागि एक सय बेड चलाउने तयारी भइरहेको बताए । ‘पोजिटिभ भएकालाई रेड जोन, पीसीआर जाँच गरेर रिपोर्ट आउन बाँकीलाई ओरेन्ज जोन र नेगेटिभ आएकालाई ग्रीन जोनमा राखेर उपचार गर्छौं,’ उनले भने ।
जिल्लाका अन्य निजी अस्पतालले पनि आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी फर्काउन थालेका छन् । नक्खुस्थित मेडिसिटी, पुल्चोकको अल्का, सुमेरु, सानेपाको स्टार अस्पतालमा संक्रमितका लागि छुट्याइएका आईसीयू र भेन्टिलेटर भरिएका छन् ।
स्टारका डा. शैल रूपाखेतीले १० भेन्टिलेटर र ८ आईसीयू थप्ने तयारीमा रहेको बताए । ग्वार्कोको बीएन्डबी अस्पतालको आईसीयू र भेन्टिलेटर पनि भरिएका छन् । पाटन अस्पतालको भेन्टिलेटर १७ वटा र आईसीयू २१ वटा नै भरिएका छन् । यहाँ कोभिडको उपचार गर्न २६० बेड छुट्याइएको छ । आवश्यकताअनुसार बेड संख्या बढाउन सकिने अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए । अस्पतालमा हाल ६ सय ५० बेड छन् ।
