तत्कालै अभाव नदेखिए पनि कोरोना संक्रमित बढ्दै जाँदा खपत बढ्ने भएकाले आपूर्ति व्यवस्था चुस्त राख्न निगरानीको खाँचो
सुनसरी — कोरोना महामारीको दोस्रो लहर बढ्न थालेपछि अक्सिजन सिलिन्डरको घरमै जोहो गर्नेको संख्या बढेको छ । कुनै पनि बेला श्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्ने भन्दै सर्वसाधारणले सिलिन्डर जोहो गर्न थालेका हुन् ।
तीन सातायता अक्सिजन प्लान्ट सञ्चालक र सिलिन्डर बिक्रेताबाट करीब १५ प्रतिशत सिलिन्डर खपत भएको छ । तर यसरी सिलिन्डर जोहो गर्दा संक्रमित बिरामीका लागि दीर्घकालीन फाइदा भने नपुग्ने अक्सिजन प्लान्ट सञ्चालकहरूले बताएका छन् ।
मोरङको बुढीगंगा गाउँपालिकास्थित हिमाल अक्सिजन प्लान्टका प्रबन्धक केदार श्रेष्ठले भने, ‘छिमेकी मुलुक भारतमा कोरोना महामारीका बीच अक्सिजन अभाव भएका समाचार देखेकाले त्यस्तै आइपर्ला कि भनेर अक्सिजन सिलिन्डर जोहो गरेका होलान् । तर त्यसरी जोहो गरेको सिलिन्डरले कोरोना संक्रमितलाई २४ घण्टा मात्र थेग्छ । त्यसपछि फेरि अक्सिजन भर्नुपर्छ ।’ उनका अनुसार अहिले नै सिलिन्डर जोहो गर्दा
स्वास्थ्य संस्थामा अभाव भई वास्तविक संक्रमितको ज्यान जान सक्ने जोखिम बढाउने उनको भनाइ छ ।
बुढीगंगामा हिमाल, सुनसरीको खनारमा दुर्गा, सोनापुरमा विनायक र पाथिभरा गरी मोरङमा चार वटा अक्सिजन प्लान्ट छन् । झापा, मोरङ र सुनसरीमा खुलेका ठूला अस्पताल र अक्सिजन चाहिने उद्योगहरूलाई लक्षित गरेर ती प्लान्टबाट उत्पादन हुँदै आएको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट छ । प्रतिष्ठानको प्लान्टबाट १६ सय लिटर प्रतिघन्टा उत्पादन हुने गरे पनि हाल क्षमताको ३० प्रतिशत मात्रै उत्पादन भइरहेको छ ।
हिमालका प्रबन्धक श्रेष्ठले आफ्नो बिक्री कक्षबाट दैनिक पाँच/सात जनाले सिलिन्डर खरिद गरिरहेको बताए । बजारमा करीब १६ लिटरको ठूलो सिलिन्डरको २० हजार रुपैयाँ पर्छ । सिलिन्डरमा अक्सिजन भर्न भने खासै खर्च हुँदैन । ठूलो सिलिन्डरमा एक पटक भरेको सरदर ५ सय ५० रुपैयाँ र सानो सिलिन्डरमा भरेको २ सय ५० रुपैयाँ लाग्छ ।
कति अक्सिजन उत्पादन हुन्छ ?
बीपी प्रतिष्ठानको ७ सय शय्या र कोभिड अस्पतालका एक सय शय्या, इमर्जेन्सी कक्ष, आईसीयू कक्षमा आफ्नै प्लान्टको अक्सिजन पर्याप्त छ । आठ महिनाअघि भने उक्त प्लान्टको दुईमध्ये एउटा जेनेरेटर र बुस्टर बिग्रेकाले क्षमताभन्दा आधा मात्र अक्सिजन उत्पादन हुँदै आएको थियो । प्रतिष्ठानमा जडान गरिएको प्लान्टबाट एक हजार जनालाई एकसाथ अक्सिजन आवश्यक परे पनि सबैलाई आपूर्ति गर्न सकिन्छ । कोरोना बिरामीलाई अक्सिजन अभाव हुन नदिन प्रतिष्ठान अर्को प्लान्ट थप्ने तयारीमा छ ।
६.८ क्युबिक मिटरको ठूलो सिलिन्डर प्रतिघण्टा ३० वटा भर्ने २ सय क्युबिक मिटर क्षमताको विनायक अक्सिजन प्लान्टसँग ठूला साना गरेर ८ हजार सिलिन्डर छन् । विनायकका प्रबन्धक आनन्द सिंहले भने, ‘पूर्वका अधिकांश अस्पतालमा अक्सिजन आपूर्तिको काम हामीले नै गर्दै आएका छौं । सिलिन्डर नै बोकेर घर लिएर जानेहरूले गर्दा समस्या आउन सक्छ भनेर घरैमा राख्ने सिलिन्डर भने बेच्दैनौं ।’ अक्सिजनको माग बढिहालेको नभए पनि पर्याप्त उत्पादन भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘भारतमा जस्तो अक्सिजनको अभाव हाम्रोमा नहोला,’ उनले भने ।
पाथीभराले दैनिक ३ सय ५० क्युबिक मिटर अक्सिजन उत्पादन गर्ने गरेको प्रबन्धक दीपेश काफ्लेले बताए । उनले पनि घरमा लैजाने सिलिन्डर आफ्नो उद्योगले नबेच्ने बताए । हिमाल अक्सिजन प्लान्टको क्षमता २ सय क्युबिक मिटर छ । उक्त प्लान्टसँग ४ हजार ठूला–साना सिलिन्डर मौज्दात छन् । दैनिक ९ सय सिलिन्डरमा अक्सिजन भर्ने गरिएको बताएका प्रबन्धक केदार श्रेष्ठले भने, ‘पछिल्लो समयमा अक्सिजन आपूर्तिको रेन्ज बढ्ने सम्भावना छ । अभाव होला भन्ने सोचेका छैनौं ।’ दुर्गा अक्सिजन प्लान्टले भने सातामा तीन दिन मात्र अक्सिजन उत्पादन गर्दै आएको छ । प्लान्टका प्रबन्धक आशिष मित्तलले भने, ‘१ सय २० क्युबिक मिटर क्षमताको प्लान्ट भए पनि अक्सिजनको माग नभएकाले सातामा तीन दिनमात्र उत्पादन गर्दै आएका छौं ।’ प्लान्टमा सानो सिलिन्डर १ सय २५ र ठूलो सिलिन्डर २ सयवटा रहेको उनले बताए ।
प्रतिष्ठानमा रहेको सहित सुनसरी र मोरङका अक्सिजन प्लान्टसँग ठूला–साना गरेर करीब १६ हजार सिलिन्डर छन् । ती प्लान्टबाट दैनिक ५ हजार सिलिन्डरमा अक्सिजन भर्न सकिने अवस्था भए पनि कोरोनाको भयावह स्थितिलाई नकार्न नसकिने भएकाले प्रत्येक प्लान्टमा जिल्ला प्रशासनले अनुगमन, निरीक्षण गरेर पूर्वतयारी अपनाउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
खरिदमा नियमावली कठोर
सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार वर्षमा ५ लाख रुपैयाँभन्दा बढीको अक्सिजन खरिद गर्न पाइँदैन । तर कोरोना वा अक्सिजन बढी चाहिने बिरामीको संख्या बढेका बेला के गर्ने भन्नेबारे भने सरकारले बनाएको उक्त सार्वजनिक ऐन तथा नियमावलीले बोलेको छैन । प्रतिष्ठानका एक अधिकृतले भने, ‘बीपी प्रतिष्ठानको प्लान्ट अचानक बिग्रियो भने अरू प्लान्टबाट अक्सिजन खरिद गरेर ल्याउनुपर्ने हुन्छ । २० लाख रुपैयाँको ल्याउनुपरे सिल्ड कोटेसन गर्नुपर्ने र त्यसभन्दा बढीको खरिद गर्नुपरे बोलपत्र आह्वान गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।’
