दक्ष जनशक्ति अभाव हुँदा सेवा सञ्चालनमा समस्या
पोखरा — गण्डकी प्रदेश सरकारको गत जेठमा सबै जिल्ला अस्पतालमा आईसीयू कक्ष स्थापनाका लागि भन्दै बजेट विनियोजन गर्यो । मनाङ, मुस्ताङमा २/२ बेड र अन्य जिल्ला अस्पतालमा ५/५ बेडको आईसीयू कक्ष निर्माणका लागि भन्दै १४ करोड ९८ लाख ५३ हजार रुपैयाँ पठायो ।
कोरोना कहरका बीच प्रदेशको यस्तो निर्णयले जिल्ला अस्पतालको सेवामा तत्काल वृद्धि हुने अपेक्षा धेरैको थियो । केही जिल्ला अस्पतालले आईसीयू कक्ष स्थापना गरेका पनि छन् । तर जनशक्ति अभावले सञ्चालनमा भने आउन सकेको छैन । अहिले कोरोनाको दोस्रो लहरले गण्डकी प्रदेश पनि प्रभावित बन्दै गएको छ । तर जिल्ला अस्पतालमा साधन स्रोत भएर पनि प्रयोगमा आउन नसकेका हुन् ।
म्याग्दीको बेनी अस्पतालमा ५ बेड क्षमताको आईसीयू र भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति अभावले सञ्चालन गर्न सकेको छैन । यी सेवा २४ सै घण्टा दिनुपर्ने र यसका लागि कम्तीमा ३ मेडिकल डाक्टर र १२ स्टाफ नर्स आवश्यक पर्ने अस्पतालले जनाएको छ । ‘भेन्टिलेटर चलाउनु ठूलो कुरा होइन । हामीसँग तालिम प्राप्त जनशक्ति छ । तर आईसीयू सञ्चालन गर्ने र बिरामीलाई भेन्टिलेटरमा राखेपछि २४ सै घण्टा एक डाक्टर र स्टाफ नर्स भइरहनुपर्छ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जितेन्द्र खनालले भने ।
मनिटरिङ गर्न मुख्य समस्या रहेको र अस्पताललाई नियमित बिरामी परीक्षण र उपचारमै डाक्टर अभाव रहेको उनको भनाइ छ । हाल अस्पतालमा स्थायीतर्फ एक एमडीजीपी र करारका ४ मेडिकल अफिसरको भरमा अस्पताल चलेको छ । दुई मेडिकल अफिसर अध्ययनका लागि बिदामा जाँदै छन् । ‘सामान्य अवस्थामै उपचार सेवा प्रभावित छ, आईसीयू झन् परको कुरा भयो,’ खनालले भने, मासिक ५ लाख हाराहारी बजेट भए ३ मेडिकल अफिसर र १२ स्टाफ नर्स राखेर आईसीयू राम्रोसँग सञ्चालन गर्न सकिन्छ ।’
पूर्वी नवलपरासीको डन्डास्थित जिल्ला अस्पतालमा ३१ स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि ६ मात्र कार्यरत छन् । विशेषज्ञ चिकित्सकको अभावमा भेन्टिलेटर, आईसीयू पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । जिल्ला अस्पतालमा ५ बेडको आईसीयू बेड र ३ भेन्टिलेटरको व्यवस्था छ । आईसीयू ३ मात्र सञ्चालनमा छन् । दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको अभावमा अरू बेड सञ्चालन हुन नसकेको हो । सामाजिक विकास मन्त्रालयमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी पठाइदिन पटकपटक अनुरोध गर्दै आए पनि दरबन्दीका स्वास्थ्यकर्मी आएका छैनन् । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले दक्ष र विशेषज्ञ चिकित्सकको अभावमा आईसीयू र भेन्टिलेटर कक्ष पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए ।
प्रदेश सरकारले गत वर्ष आईसीयू कक्ष बनाउन १ करोड ६९ लाख रकम दिएको थियो । गोरखा अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कक्ष एक वर्षअघि नै स्थापना गरिएको थियो । भूकम्पले भत्काएको अस्पताल भवन निर्माणाधीन छ । हाल कर्मचारी आवास गृहको भवनबाट अस्पतालले सेवा प्रवाह गर्दै आएको छ । ‘सात बेडको आइसोलेसनका अक्सिजन दिएर बिरामी राख्न सक्छौं,’ गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘एउटा भेन्टिलेटरले भने सबै कभर गर्नुपर्नेछ ।’ कोभिड–१९ लाई लक्षित गरेर आईसीयू कक्ष नरहे पनि जटिल अवस्थामा सेवा प्रवाह गर्न सकिने अस्पतालले जनाएको छ । फिजिसियन र एनोथेसियाका चिकित्सक रहेकाले भेन्टिलेटर सञ्चालनमा जनशक्ति अभाव नरहेको उनले बताए ।
लमजुङ जिल्ला अस्पतालमा आईसीयू कक्ष सञ्चालन गर्न भेन्टिलेटरका लागि गत वर्ष प्रदेश सरकारले बजेट विनियोजन गर्यो । असोजमा जडान गर्ने भनिएको सामग्री मंसिरमा जडान भयो । कतिपय सामग्रीको जडान अहिले पनि प्रक्रियामा छ । तर, सञ्चालनमा आउन सकेको छैन । कोरोनाको दोस्रो लहर सुरु भइसके पनि आईसीयू निर्माण हुन सकेको छैन । सरकारले बजेट विनियोजन गरेको ३ महिनापछि भदौ १४ मा सम्झौता गरेर १ महिनामा आईसीयू जडान गरिसक्ने भनिएको थियो । प्रदेश सरकारले २ भेन्टिलेटरसहित ५ बेडको आईसीयू निर्माण गर्न १ करोड ६९ लाख पठाएको थियो ।
अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार भेन्टिलेटर जडान गरिए पनि सञ्चालनमा आउन सकेको छैन । ‘भेन्टिलेटर चलाउने दक्ष जनशक्ति छैन । प्रदेश सरकारले पठाएको छैन,’ उनले भने । उनका अनुसार एनेस्थियोलोजिस्ट र फिजिसियन चिकित्सक १/१ जना आवश्यक पर्छ । तालिम प्राप्त नर्सहरू आवश्यक पर्छन् । अस्पतालमा नर्स भए पनि भेन्टिलेटरसहित आईसीयू सञ्चालन गर्ने तालिम प्राप्त छैनन् ।
तनहुँको दमौली अस्पतालमा ४ भेन्टिलेटरसहित ७ बेडको आईसीयू कक्ष निर्माण गरे पनि दक्ष प्राविधिक अभावमा सञ्चालनमा भने आएको छैन । चालु वर्षमा संघ सरकारबाट २ करोड रुपैयाँ विनियोजन भएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले आईसीयू कक्षका लागि अक्सिजन प्लान्ट जडानका लागि सूचना निकालेर उपकरण खरिद प्रक्रियामा गएको बताए । उनले भने, ‘हाललाई आवश्यक परे अक्सिजन सिलिन्डर प्रयोग गरी काम चलाउने तयारी गरेका छौं । यसका लागि प्रदेश सरकारबाट ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।’
अस्पतालका मेडिकल अधिकृत डा. दिवस ढकालले पनि चिकित्सक अभावमा आईसीयू कक्ष सञ्चालनमा ल्याउन नसकिएको बताए । ‘भेन्टिलेटर र आईसीयू कक्ष हेर्ने एउटा जनशक्ति पनि छैनन्,’ उनले भने, ‘नभएसम्म सञ्चालन गर्न कठिन हुनेछ ।’ उनका अनुसार आईसीयू कक्ष सञ्चालनका लागि २० नर्सिङ स्टाफ, ४ मेडिकल अफिसर र एक जना एनेस्थेसियोलोजिस्टको आवश्यकता पर्छ । हाल अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टसहित ८ डाक्टर छन् ।
सामाजिक विकास मन्त्रालयले स्याङ्जा, लमजुङ, पूर्वी नवलपरासी, पर्वत, म्याग्दी, तनहुँ र मातृशिशु मितेरी अस्पताल कास्कीलाई जनही १ करोड ६९ लाख १९ हजार रुपैयाँ आईसीयू र भेन्टिलेटरका लागि पठाएको थियो । ५ बेडको आईसीयू सेटअपका लागि मनाङ र मुस्ताङ अस्पताललाई भने जनही ९७ लाख १० हजार रुपैयाँ विनियोजन भएको थियो ।
-घनश्याम खड्का (म्याग्दी), नारायण शर्मा (पूर्वी नवलपरासी), हरिराम उप्रेती (गोरखा), आश गुरुङ (लमजुङ) र सम्झना रसाइली (तनहुँ)
