कोरोना अस्पताललाई आवश्यक उपकरण किन्न प्रक्रिया थालियो, भेरीमा स्वास्थ्यकर्मी भर्ना गर्न स्वीकृति
बुटवल, रोल्पा — कोरोना संक्रमितलाई शय्या अभावमा भुइँमै उपचार गराउन थालेका अस्पताललाई लुम्बिनी प्रदेश सरकारले रकम दिने भएको छ । प्रदेश सरकारले रकमान्तर गर्दै चार अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने भएको हो ।
कोरोना नियन्त्रण तथा उपचार कोष निर्देशक समितिको सोमबार बसेको बैठकले बुटवलको धागो कारखाना र दाङको बेलझुन्डीस्थित अस्थायी कोरोना विशेष अस्पताल र भेरी अस्पताललाई ५०/५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
रूपन्देहीको भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको । चारै अस्पतालले उक्त रकम अक्सिजन शय्या निर्माण र खरिदमा मात्र प्रयोग गर्न पाउने छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं उपचार कोषका निर्देशक शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले अन्य मन्त्रालयमा खर्च हुन नसकेको विभिन्न शीर्षकको बजेट कोरोना अस्पतालको व्यवस्थापन र संक्रमितको उपचारमा लगाउन प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले कोषमा थप १० करोड रकम जम्मा गर्न पनि निर्देशन दिएको छ ।
पहिलो चरणमा स्थापित कोरोना उपचार विशेष अस्पताल अहिले बिरामीले भरिएका छन् । बाँकेको भेरी अस्पतालमा बिरामी भरिएपछि तीन दिनदेखि भुइँमा राखेर उपचार गर्न थालिएको छ । बुटवलका अस्पतालले पनि बिरामीको चाप थेग्न नसकेपछि काठमाडौं रेफर गरिरहेका छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले तत्काल अभाव देखिएको अक्सिजन शय्या निर्माण र खरिद गर्न रकम उपलब्ध गराइएको बताए । ‘यो रकम अन्यत्र खर्च गर्ने अधिकार छैन,’ उनले भने, ‘आवश्यकता अनुसार अन्य कामका लागि पनि सरकारले रकम उपलब्ध गराउने तयारी गरेको छ ।’ चिकित्सक, कर्मचारी र अन्य व्यवस्थापनका लागि संघ र स्थानीय सरकारसँग पनि प्रदेश सरकारले समन्वय गरिरहेको र तत्काल आवश्यक जनशक्ति व्यवस्थापन पनि अघि बढेको उनले बताए । सोमबार नै संघ सरकारले भेरी अस्पतालका लागि १० मेडिकल अधिकृतसहित ८० स्वास्थ्यकर्मी भर्ना गर्न स्वीकृति दिएको छ । अस्पतालले कर्मचारी भर्ना प्रक्रिया सुरु गरिसकेको छ ।
लुम्बिनीमा पछिल्लो एक सातामा दैनिक संक्रमितको संख्या एक हजार पुग्न थालेको छ । बाँके र रूपन्देहीमा बढी छन् । तर, संक्रमितको उपचारका लागि सञ्चालित अस्पतालमा अहिले पनि उपकरण र जनशक्तिको अभाव कायमै छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पनि पुरानै अवस्थामा छ । लुम्बिनीका चार अस्पतालमा अहिले पनि संक्रमितको उपचारका लागि १ सय ९२ शय्या छन् । तीमध्ये ३९ आईसीयू, २१ भेन्टिलेटर र १ सय ३ मोनिटरसहितका शय्या छन् । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालका फोकल पर्सन डा. विष्णु गौतमले बिरामीको चाप थेग्नै नसक्ने गरी बढेको बताए । ‘बिरामीको चापअनुसार शय्या, उपकरण र जनशक्ति सबै अपुग छ,’ उनले भने, ‘१० दिनदेखि कुनै पनि शय्या खाली छैनन् ।’ धागो कारखानास्थित अस्पतालमा १५ आईसीयू, ४ भेन्टिलेटर र ३ मोनिटरसहितका शय्या र ३६ आइसोलेसन शय्या छन् । आइसोलेसन शय्यालाई एचडीयू बनाउने प्रयास सुरु भएको उनले बताए । प्रदेशका ७ निजी अस्पतालले पनि संक्रमितको उपचार गर्दै आएका छन् ।
स्थानीय तह सक्रिय
संक्रमण रोक्न र जनचेतना विस्तार गर्न रोल्पाका स्थानीय तहले गतिविधि बढाएका छन् । तीन तहले जिल्ला प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापना गरी जिल्ला भित्रिएकाहरूको स्वास्थ्य अवस्था जाँच गर्न थालेका छन् । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्णयलगत्तै रुन्टीगढी, त्रिवेणी र सुनील स्मृति गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेका हुन् । सोमबारदेखि नै ती डेस्कबाट काम थालिएको छ । स्थानीय तहको नेतृत्वमा हेल्थ डेस्कमा प्रहरी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले तथ्यांक संकलन थालेका छन् । नाकाबाट भित्रिएकाको तापक्रम, रक्तचाप लगायत जाँच्न थालिएको रुन्टीगढीले जनाएको छ ।
उक्त गाउँपालिकाले होलेरीमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । सुनील स्मृतिले खुंग्रीमा र त्रिवेणीले निगालपानीमा डेस्क स्थापना गरेका हुन् । अघिल्लो वर्ष पनि ती तहले तिनै स्थानमा डेस्क स्थापना गरेका थिए । गत वर्ष प्रायः सबैले क्वारेन्टाइन बनाएका थिए । यसपटक पनि गाउँपालिका आफैंले आइसोलेसन बनाउनुपर्ने डीसीसीएमसीको निर्देशन छ । प्रमुख जिल्ला अधिकारी एवं डीसीसीएमसीका संयोजक नवराज सापकोटाले जिल्ला र स्थानीय तहले आ–आफ्नै पहलबाट क्वारेन्टाइन र आइसोलेसन बनाए सजिलो हुने बताए । बैठकले जिल्ला भित्रिनेमा संक्रमण देखिए तत्कालै कन्ट्याक्ट ट्रेसिङ थाल्ने निर्णय पनि गरेको छ ।
