लकडाउनका बेला भारतबाट बर्दिया आएका युवकलाई क्‍वारेन्टाइन पठाइयो

वैशाख ६, २०७७

कमल पन्थी

बर्दिया — कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै नेपाल–भारत सीमा सिल गरिए पनि सुरक्षाकर्मीलाई छल्दै एक युवक बर्दिया पसेका छन् ।

बर्दिया गुलरिया गणेशपुर नाकाबाट ती युवक सुरक्षाकर्मीलाई छलेर आएपछि स्थानीयले क्वारेन्टाइनमा पठाएका छन् ।

गुलरिया नगरपालिकाका भन्सार रोडका एक युवक भारतको लौकाही हुँदै बर्दिया आएका हुन् । उनलाई बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । स्थानीय स्रोतले उक्त नाकाबाट ६ जना आएको बतायो ।

अरु ५ जनाका बारेमा भने पुष्टि नभएको प्रहरीले जानकारी दिएको छ । नेपालसँग जोडिएको ८३ किमी लामो सीमामा एक हजारभन्दा बढीको संख्यामा सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सीमामा कडाइ भएकोले भारतबाट मानिस प्रवेश गर्ने अवस्था नरहेको बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully