दोस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भइन् 

वैशाख ६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको दोस्रो कोभिड—१९ संक्रमित निको भएर आज डिस्चार्ज भएकी छिन् । चैत १० गते कोरोना पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत थिइन् ।

सबै रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको स्वास्थ्‍य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिएका छन् ।

ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् । फ्रान्सबाट कतारको दोहासम्म सँगै आएको भियतनामी साथीले फोन गरेर आफूलाई संक्रमण रहेको बताएपछि परिवारका सदस्यले उनलाई टेकु अस्पताल ल्याएका थिए ।

त्यसैगरी टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन् । उनी युएईबाट चैत ६ गते नेपाल आएका थिए ।

शुक्रबार एकैदिन नेपालमा कोरोना संक्रमित १४ जना थपिएका थिए । हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० छ ।

नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी निको भइसकेका छन् ।

कान्तिपुर

Link copied successfully