काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको छ ।
निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिबाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले लक डाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने प्रष्ट पारे ।
कोरोनाभाइरस ९कोभिड–१९०का कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको भन्दै चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बबापत् लाग्ने जरिबाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको ८३० औं बैठकले जरिबाना छुट दिने निर्णय गरेको थियो । मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
‘लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौं, ग्राहकहरुले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठ वटा अनलाईन सेवाप्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ, लकडाउन खुल्ला भएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नु भएको रकममा समायोजन गरिने छ,’ घिसिङले भने ।
प्राधिकरणले चैत र वैशाखको महसुल आगामी ६ जेठभित्रमा भुक्तानी गरेमा २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा विलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो ।
प्राधिकरणले वर्तमान अवस्थामा ग्राहकको घरघरमा गई मिटर रिडिङ गर्न सक्ने अवस्था नरहेकोले सिंगल फेज ग्राहकहरुको चैत्र र वैशाखको बिल फागुनको बिलअनुसार नै गर्नेछ भने थ्रीफेज मिटर जडान भएको ग्राहकको हकमा सम्भवभएसम्म मिटर रिडिङ गरेर वास्तविक बिल गर्नेछ । सिंगल फेज ग्राहकहरुको यी महिनाहरुको बिल पछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा सोहीअनुसार बिलमा मिलान गरिने छ ।
मन्त्रिपरिषद्को निर्णयकाआधारमा प्राधिकरणले ग्राहस्थ ९सामुदायिक समेत० वर्गका १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत्र र यही वैशाखको बिलको इनर्जी शुल्क ९न्यूनतम शुल्कबाहेक० मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । चैत महिनाको यस्तो छुट रकम बिल नतिरेको ग्राहकको हकमा बिलमा नै मिलाइने र बिल तिरिसकेका ग्राहकको हकमा वैशाखको बिलमा मिलान गरिने प्राधिकरणले जानकारी दिएको छ ।
