उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिकामा ३ दिनयता मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वसन्त बस्नेतले ८ सय ३५ मतले अग्रता लिइरहेका छन् ।

बस्नेतले ५ हजार ८ सय २० मत प्राप्त गरेका छन् । उनलाई नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरीले ४ हजार ९ सय ८५ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार भागवत राउतले ४ हजार ३ सय ७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी उपमेयरमा कांग्रेसकै सरिता राईले ५ हजार २ सय ६० मत लिएर अग्रता कायम गरेकी छन् । उनी सुरुदेखि नै अगाडि नै थिइन । एमालेकी महेश्वरी राईले ४ हजार ८ सय ५५ मतका साथ पछयाइरहेकी छन् । भने तेस्रो स्थानमा माओवादी केन्द्रकी गीता खड्का कार्कीले ३ हजार ९ सय ११ मत प्राप्त गरेकी छन् ।
१६ वडा रहेको त्रियुगा नगरपालिकामा अहिलेसम्म १, २, १४,१५ र १६ नम्बर वडाको मतगणना सम्पन्न भई परिणामसमेत सार्वजनिक भइसकेको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए ।
त्रियुगा नगरपालिका उदयपुर जिल्लाको सदरमुकाम भएको र मतदान विवाद भएकोले मतगणनालाई सर्वसाधरणले धेरै चासो राखेका छन । यहाँ ६० हजार मतदाता रहेकोमा ४१ हजार ८ सय ९८ मत खसेको छ । अहिलेसम्म १७ हजार ४ सय १४ मत मात्रै गणना गरिसकिएको छ ।
प्रकाशित : जेष्ठ १३, २०७९ ०८:०९