२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । नेकपा एमालेका मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खाँणले २४ हजार ३९६ मत ल्याएर नगर प्रमुखमा विजयी भएका हुन् । खाँणका निकटतम प्रतिद्वन्द्वी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका छन् । खाँण नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापतिसमेत हुन् । उनी गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ हुन् । गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनबाट कांग्रेस रुपन्देहीको सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, उपमेयरमा भने फराकिलो मतान्तरसहित नेकपा एमालेकी जागेश्वरीदेवी चाधरी विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत प्राप्त गरी उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयर र उपमेयर दुवै एमाले विजयी भएको थियो । कुल १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा कांग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जित हासिल गरेको छ ।

तिलोत्तमा नगरपालिकामा वडा नं १, ४, ७, ८, १०, ११, १२ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २, ३, ५, ६, ९, १३, १४ १६ र १७ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । यससँगै रुपन्देहीका १६ वटै स्थानीय तहमा मतगणना सकिएको छ । जसमध्ये १० वटा स्थानीय तहको प्रमुख काँग्रेसले जितेको छ भने ३ वटामा एमालेले जितेको छ ।

तीन वटा स्थानीय तहमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजावादी पार्टी र जनता प्रगतिशील पार्टीले एक/एक स्थानीय तहको प्रमुख जितेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी भने शून्य भएका छन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?