पाल्पा — गठबन्धनले पाल्पामा माओवादी केन्द्रलाई फाइदा पुगेको छ भने जनमोर्चा पनि स्थानीय तहमा जनप्रतिनिधिसहित सत्तामा पुगेको छ । २०७४ सालमा चार वडाध्यक्षमा सीमित माओवादी केन्द्रले यसपटक गठबन्धनकै कारण एक अध्यक्ष, एक उपाध्यक्षसहित ५ वडा जितेको छ । तर दुई वडामा भने रुख चिन्ह लिएर चुनाव लडेको थियो । रुख चिन्हमा चुनाव लडेका सदस्य पनि धेरै नै छन् ।
नेकपा माओवादी पाल्पाको स्थानीय तह निर्वाचनमा ५ दशमलव ८८ प्रतिशत उम्मेदवार जनप्रतिनिधिमा निर्वाचित भएको निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । प्रमुख तथा अध्यक्षमा १ जना, उप–प्रमुख तथा उपाध्यक्षमा १ जना, वडा अध्यक्षमा ३ जना, महिला सदस्यमा ४ जना, दलित महिला सदस्यमा ५ जना र खुला सदस्यमा ११ जना विजयी भएका छन् । माओवादी केन्द्रका २५ जना उम्मेदवार जनप्रतिनिधिले जितेको निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाका १ दशमलव १८ प्रतिशत उम्मेदवारले जितेका छन् । जनमोर्चाका १ वडा अध्यक्ष, १ महिला सदस्य, १ दलित सदस्य र २ खुला सदस्य गरी ५ जनाले जितेका छन् । केहीले माओवादी चिन्हबाट पनि जितेका छन् । गठबन्धन गरेका दलहरुमध्ये कलम चिन्हबाट नेकपा एकीकृत समाजवादीले भने एक सिट पनि जितेन । जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले अहिलेको गठबन्धनको उपलब्धि नै भएको बताए । उनले सकारात्मक कदमका रुपमा लिएको बताए ।
प्रमुख प्रदमा रम्भा र पूर्वखोला गाउँपालिकामा अध्यक्ष, बगनासकाली गाउँपालिकामा उपाध्यक्ष पदलमा चुनाव लडेका थिए । तानसेन नगरपालिका–९, १०, रैनादेवी छहरा–४, माथागढी–२, लगायतमा पनि सदस्यमा निर्वाचन लडेका थिए । उम्मेदवारी फिर्ता नलिएका केही स्थानमा पनि कलमको उम्मेदवारी कायमै थियो । तर चिन्ह लिएकामा कतै पनि जित हासिल गरेन बरु उल्टै कलमको भोट ठूलो संख्यामा बदर भयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कलम चिह्नमा परेको ५.८ प्रतिशत मत बदर भएको छ ।
निर्वाचन कार्यालय रम्भाका अनुसार अध्यक्षको उम्मेदवारमा १ हजार ४६ मत बदर भएको छ । कलम चिन्हमा रम्भामा ४ हजार ५ सय ४२ मत सदर भएको थयो । कलम चिन्ह लिएर उपाध्यक्षमा उम्मेदवार भएका बगनासकालीमा पनि बदर मतको संख्या अत्यधिक रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बगनासकाली निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार ९ सय ९६ मत बदर भएको छ । १३ हजार ७ सय ५६ मत खसेकामा १४ दशमलव पूर्वखोलामा पनि अध्यक्षमा कलम चिन्ह लिएर उठेका उम्मेदवारको कुल खसेको मतमा १ हजार १ सय ८५ मत बदर भएको छ । ८ हजार ७ सय ८५ मत खसेकामा १३ दशमलव ५३ प्रतिशत मत बदर भएको छ ।
गठबन्धनबाट उम्मेदवार दिएका माओवादी केन्द्रका अध्यक्ष पदमा तिनाउ गाउँपालिकामा पराजय भोग्नु परेको छ । कांग्रेस भित्रको अन्तरद्वन्द्व र असन्तुष्टिले पराजय भोग्नु परेको माओवादीको निष्कर्ष रहेको छ । उम्मेदवार छनोट, भागबन्डाका विषयले कांग्रेसका तिनाउ गाउँपालिकाका सबै पदाधिकारीले पार्टीबाट राजीनामा दिएका थिए । पार्टीले गठबन्धनका नाममा लोकतान्त्रिक विधि मिचेको भन्दै गाउँपालिका सभापति प्रेम पाण्डेसहित सबै वडा सभापतिले राजीनामा दिएर असहयोग गरेको माओवादीको आरोप छ ।
पाल्पामा गठबन्धनबीचको सहमतिअनुसार तिनाउको अध्यक्षमा माओवादी केन्द्रको भागमा परेको छ । तिनाउ गाउँपालिकामा पनि बदरमत अध्यक्षमा ७ सय ७४ र उपाध्यक्षमा ७ सय ७० मत बदर भएको छ ।
