तिलोत्तमा नगरपालिकाको प्रमुखमा खाँणको अग्रता कायमै

जेष्ठ ११, २०७९

सन्जु पौडेल

तिलोत्तमा — गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी छ । तिलोत्तमामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्ममा ५० हजारभन्दा बढी मतको परिणाम सार्वजनिक हुँदा खाँण ९६३ मतले अगाडि छन् । पछिल्लो मत परिणामअनुसार खाँणले १९ हजार ८ सय ३१  मत पाएर अग्रता कायम रोखको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनलाई नेकपा एमालेका मोहन चापागाईंले १८ हजार ८ सय ६८ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै, उपप्रमुखमा भने नेकपा एमालेले अग्रता लिएको छ । उपप्रमुखमा एमालेकी जगेश्वरी दोब्बर मतले अगाडि छन् । तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३, ४, ५, १२, १३ १५, १६र १७ नं वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ती वडामध्ये वडा नं १, ४, १२ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २, ३, ५, १३, १४ १६ र १७ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । अहिले तिलोत्तमा नगरपालिकाको ६, ७, १० र ११ वडा को मतगणना जारी छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully