महानगरमा दोहोरिए चिरिबाबु र रेनु

कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरु प्रतिस्पर्धीसँग फराकिलो मतान्तर राख्दै विजयी

जेष्ठ ११, २०७९

प्रशान्त माली, रमेशकुमार पौडेल

चितवन‚ ललितपुर — स्थानीय तह निर्वाचनमा धेरैको ध्यान तानेको भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित भएकी रेनु दाहाल आफैंलाई पनि यति फराकिलो मतान्तर हुने आकलन थिएन । ‘तीनदेखि सात हजारसम्मको मतान्तर होला भन्ने थियो । सोचेको भन्दा राम्रो नतिजा आयो,’ मंगलबार बिहान भरतपुरको मतगणनास्थल चितवन प्रदर्शनी केन्द्रमा दाहालले पत्रकारहरूसँग भनिन् ।

 मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मतपरिणामअनुसार सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार दाहालले ५२ हजार २८ मत उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) सँगको तालमेलबाट एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८२ मत ल्याएका छन् । दाहाल १२ हजार ४ सय ४६ मतान्तरले निर्वाचित भएकी हुन् । उपप्रमुखमा सत्ता गठबन्धनकै कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८ सय ३ मत पाएका छन् । 

गत निर्वाचनमा दाहाल निकै कम मतान्तर र विवादबीच निर्वाचित भएकी थिइन् । त्यतिबेला एमालेका देवीप्रसाद ज्ञवालीलाई २ सय ३ मतको झिनो मतान्तरले पराजित गरेकी थिइन् । दाहालको यस पटक पनि एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धा भए पनि अघिल्लो निर्वाचनको जस्तो कडा रहेन । एमालेलाई मतदान गर्नेमध्येले नै यस पटक दाहाललाई मत दिएको एमालेकै नेताहरू पनि स्वीकार गर्छन् । प्रमुखमा कम मत आएको मात्रै हैन यसपालि एमालेले धेरै वडाध्यक्ष पनि गुमायो । अघिल्लो पटक १४ वडाध्यक्ष जितेको एमाले ६ वडामा खुम्चिएको छ । महानगरका २९ वडामध्ये १६ कांग्रेस, एक कांग्रेसका बागी, ६ एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन/तीन वडाध्यक्ष जितेको छ । 

अघिल्लो पटक एमालेका वडाध्यक्षहरूले ३८ हजारको हाराहारीमा मत ल्याउँदा मेयर पदका तत्कालीन उम्मेदवार ज्ञवालीले ४२ हजार मत कटाएका थिए । यो पटक भरतपुरमा राप्रपासँगको चुनावी तालमेलपछि पनि सुवेदीलाई आफ्नै वडाध्यक्षहरूलाई भन्दा कम मत आएको छ । ‘राप्रपासँगको हाम्रो तालमेल महानगरको सन्दर्भमा प्रतिउत्पादक भयो,’ एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने । 

सत्ता गठबन्धनमा भरतपुर प्रमुखको पद माओवादी केन्द्रलाई दिने गरेर निर्णय भएपछि चितवन कांग्रेसभित्र असन्तुष्टि चर्केको थियो । असन्तुष्ट रहेका भरतपुरका कांग्रेस नेता/कार्यकर्ताले पुराना नेता जगन्नाथ पौडेललाई प्रमुखमा उठाएका थिए । ‘गठबन्धनमै रहेका दलका मान्छे स्वतन्त्र भनेर उठेपछि केही न केही मत त त्यता गयो नै तर एमालेको मत पनि रेनु दाहाललाई आएको छ । पाँच वर्ष मेयर भएर काम गरेका कारण जनताले राम्रो मूल्यांकन गरेर उहाँलाई मत दिएका छन्,’ माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भने । 

गठबन्धन दलमै प्रमुखमा दाहाललाई मत आउने/नआउने अन्योल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा बास बस्ने गरेरै भरतपुर आए । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी भरतपुरमै खटिएका थिए ।  ‘पहिला नेतृत्व हामीले पाउनुपर्छ भनेर लाग्यौं । तर पार्टीले निर्णय गरेपछि हामी सबैले उदारता देखाएर खुला हृदयले गठबन्धनलाई जिताउन मिहिनेत गर्‍यौं । त्यो नतिजामा प्रतिबिम्बित भएको हो,’ कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भने । प्रमुख पद नपाए गठबन्धन गर्नु हुँदैन भन्दै आएका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाको वडा ६ बाट दाहाललाई सबैभन्दा धेरै मत आएको उनले बताए । गठबन्धनले राम्रोसँग काम गरेका कारण दाहालको धेरै मत आएको र प्रमुख–उपप्रमुखमा समान मत आएको खनालले सुनाए । 

यता, उपत्यकाको ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार एक सय ६२ भारी मतान्तरले पराजित गरेका हुन् । ललितपुमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत र व्यञ्जनकारले २४ हजार ५ सय ६० मत ल्याए ।

०७४ को स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने भएका थिए । त्यतिबेला महर्जनले ३ सय २६ मात्र मतान्तरले व्यञ्जनकारलाई हराएका थिए । त्यतिबेला महर्जनले २४ हजार ६ सय ४२ मत र व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए । 

 उपमेयरमा एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छन् । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई ६ हजार ३ सय ३२ मतान्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् । बज्राचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे । निर्वाचित दुवैले मंगलबार राति विजय जुलुस गरेका छन् । २९ वटा वडा भएमा महानगरमा १ र १३ नम्बरमा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार र गणेश केसीले जितेका छन् । ११/११ वटाको वडाध्यक्षमा कांग्रेस र एमालेले जिते । २ र ३ मा एकीकृत समाजवादीबाट राजेशकुमार महर्जन र श्रीगोपाल महर्जनले जितेका छन् । माओवादी केन्द्रले ३ वटा वडा जितेको छ । ०७४ मा भने ललितपुर महानगरमा एमालेले बहुमत ल्याएको थियो ।

 ललितपुर मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित शाक्य दुवैले फरक पार्टी भए पनि दलगत रूपमा नसोचीकन नगरवासीको हितका लागि काम गर्ने बताएका छन् । महर्जनले ०७४ मा निर्वाचित भएपछि सुरु गरेका काम पूरा गर्ने वाचा गरे । गठबन्धनका माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बज्राचार्यले भने कांग्रेसले गठबन्धनका नाममा धोका दिएको आरोप लगाएका छन् । ‘मेयर महर्जनले हाम्रो पार्टीको भोट लिए तर हामीलाई भने दिएनन्,’ उनले भने, ‘अब गठबन्धन धेरै दिन टिक्दैन । आफू मात्रै लिने, अरूलाई नदिने गठबन्धनको आयु हुँदैन ।’ 

मेयरमा निर्वाचित महर्जनले भने कांग्रेसले माओवादीलाई धोका नदिएको बताउँछन् । ‘कोठे बैठकमा सँगै थियौं । घरदैलो कार्यक्रममा पनि सँगै थियौं,’ उनले भने, ‘मेरा लागि मात्र मैले भोट मागिन् ।’ उनले मतदान शिक्षा अभावका कारण गठबन्धनबाट उपमेयरका उम्मेदवारलाई भोट नपरेको हुन सक्ने बताए । उम्मेदवार नभएको कांग्रेसको उपमेयर पदमा १० हजार ७ सय २० मत खसेको थियो ।

प्रशान्त

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully