लुम्बिनी प्रदेशका दुई स्थानीय तह प्रमुखमा महिला विजयी

नवलपरासी पश्चिमको सुनवल नगरपालिका र  पाल्पाको बगनासकाली गाउँपालिका महिलाको काँधमा
अमृता अनमोल

बुटवल — स्थानीय तहको प्रमुख र उपप्रमुखमा एक जना महिला अनिवार्य छ । लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये २ वटामा मात्रै महिलाले प्रमुख पदमा जितेका छन् ।

लुम्बिनी प्रदेशका दुई स्थानीय तह प्रमुखमा महिला विजयी

ठूला दलले ११ स्थानीय तहमा मात्रै प्रमुखमा महिलालाई उठाएका थिए । ती पनि कमजोर क्षेत्र हुँदा महिलाले जित हात पार्न सकेका छैनन् । अहिलेसम्म ठूला दलबाट महिला प्रमुखमा उठेका ५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक नभएका स्थानमा महिला पछाडि छन् । उनीहरुले जित्ने सम्भावना निकै न्यून छ ।

निर्वाचन आयोगका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेकी विमला अर्याल विजयी भएकी छन् । गठबन्धनबाट नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेललाई ३ हजार २ सय १८ मत अन्तरले पराजित गरेर उनी विजयी भएकी हुन् । अर्यालले १४ हजार ८ सय ३८ ल्याउँदा पोखरेलले ११ हजार ६ सय २० मत ल्याए । अर्याल अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका भिमबहादुर थापासँग पराजित भएकी थिइन् ।

पहाडी जिल्ला पाल्पाको बगनासकाली गाउँपालिकामा पनि नेकपा एमालेकी सरस्वती दर्लामी (चिदी) अध्यक्षमा निर्वाचित भएकी छन् । उनी यसअघि गाउँपालिका उपाध्यक्ष रहेकी थिइन् । चिदीले गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजित गरेकी हुन् । चिदीले ६ हजार ४ सय ६६ मत ल्याउँदा अधिकारीले ५ हजार ६ सय ३३ मत मात्रै ल्याएकी थिइन् । यो गाउँपालिकामा प्रमुख दल एमाले, कांग्रेस र जनता समाजवादीकी मिना कुमारी गाहाले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

यसअघि लुम्बिनी प्रदेशमा एक मात्रै स्थानीय तहमा महिला अध्यक्ष थिइन् । उनी सिस्ने गाउँपालिका रुकुमपूर्वकी कुमारी बराल हुन् । तर, यसपालि उनी उम्मेदवार बनिनन् ।

निर्वाचन आयोगका अनुसार यसपालि लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट ५, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट दुई/दुई एवं नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एक/एक जना गरी ११ जनालाई पालिका प्रमुखमा उम्मेदवार बनाएको थियो । त्यसमध्येका धेरै स्थानीय तह आफू कमजोर भएका हुन् । साना दल तथा स्वतन्त्र गरी नगरप्रमुखका लागि ४९ र गाउँपालिका अध्यक्षका लागि २६ जना गरी ७५ जनाको उम्मेदवारी परेको थियो । जो जित्ने सम्भावना निकै क्षीण भएका स्थान हुन् ।

एमालेले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयर र उपमेयर दुवैमा महिला उम्मेदवार बनाएको थियो । मतगणना जारी रहे पनि यहाँ एमाले उम्मेदवार नगरप्रमुखमा रमावती यादवको मत तेस्रो नम्बरमा मात्रै छ । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्षकी उम्मेदवार पदमावती यादवनी मतपरिणाम अनुसार २ हजार मतले पछाडि छन् । नेकपा माओवादी केन्द्रबाट पनि कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा कमला भुसाल र शुद्धोधन गाउँपालिकामा कमला यादवलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । तर उनीहरू मतपरिणाममा धेरै पछाडि छन् । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा आशा चौधरीलाई उम्मेदवार बनाएको छ । प्राप्त अन्तिम मत परिणामअनुसार चौधरी अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् ।

एमालेबाट बाँकेको डुडुवा गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेकी सरोजकुमारी यादव र कांग्रेसबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको नगरप्रमुखकी उमेदवार शान्ता भण्डारी पराजित भइन् । जनता समाजवादी पार्टीले बर्दियाको मधुवन नगरपालिकामा प्रमुख पदमा उठाएकी निशा सिंह पराजित भइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?