बुटवलको मेयरमा कांग्रेसका पाण्डे ६ हजार मतले अगाडि

जेष्ठ ५, २०७९

अमृता अनमोल

बुटवल — यसअघि एमालेको वर्चश्व रहेको बुटवल उपमहानगरपालिकामा यसपालि भने कांग्रेसले अग्रता लिइरहेको छ । प्रमुख पदमा गठबन्धनबाट कांग्रेसका प्रमुख पदका उमेदवार खेलराज पाण्डेले फराकिलो अग्रता लिएका छन् ।

उनी एमालेका बाबुराम भट्टराईभन्दा झन्डै ६ हजार २ सय मतले अघि छन् ।

निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म कांग्रेसका पाण्डेले २२ हजार ७ सय ७२ मत ल्याएका छन् । भट्टराईले १६ हजार ५ सय २०मतसहित पछ्याएका छन् ।

उपप्रमुखमा भने एमालेकी सावित्रादेवी अर्याल अगाडि छन् । उनी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुड.भन्दा ४ हजार ४ सय ६८ मतले अघि छन् । अहिलेसम्म उपप्रमुखका उम्मेदवार सावित्रादेवीले १६ हजार ८८ मत ल्याएकी छन् भने गुरुङले ११ हजार ६ सय २० मतका साथ पछ्याएका छन् । बुटवलमा ६३ हजार १७ मत खसेको थियो । त्यसमध्ये ३७ हजार ४ सय मतको नतिजा सार्वजनिक भएको छ ।

उपमहानगरका वडाहरुमा पनि कांग्रेसको वर्चश्व छ । १९ वडामध्ये ८ वडा कांग्रेसले जितिसकेको छ । एमाले चारवडामा खुम्चिएको छ । स्वतन्त्र, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १, १ वडामा जितेका छन् ।  बढी मतदाता रहेका ४ वटा वडाको नतिजा आउन बाँकी छ ।

स्थानीय तह निर्वाचन २०७९

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully