१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

जो कहिल्यै हारेनन् : पहिले प्रधानपञ्च, अहिले वडाध्यक्ष 

चन्द्र कार्की

तेह्रथुम — पञ्चायती शासन व्यवस्था ताका ०४३ सालमा २५ बर्षको युवा उमेरमा उनी तत्कालिन सोल्मा पञ्चायतको प्रधानपञ्चमा भए । त्यसताका जनपक्षीय उम्मेदवारको रुपमा निर्वाचनमा पहिलो पटक होमिएका उनी हालको लोकतान्त्रिक शासन व्यवस्थामा पनि निर्वाचित भइरहेका छन् । लालीगुराँस नगरपालिका–९ का नवनिर्वाचित वडाअध्यक्ष अम्बरबहाुदर गुरुङले निर्वाचनको प्रतिष्पर्धामा कहिले पनि हार व्यहोर्नुपरेको छैन । गुरुङ दोस्रो पटक वडाध्यक्षमा विजयी भएका छन् । 

जो कहिल्यै हारेनन् : पहिले प्रधानपञ्च, अहिले वडाध्यक्ष 

संघियता कार्यान्वयनपछि गुरुङ जनताबाट चुनिएको यो दोस्रो पटक हो । ०४९ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेकोतर्फ बाट उनी तत्कालिन सोल्मा गाविसको अध्यक्ष भए । ०५४ को निर्वाचनमा पनि उनै गुरुङलाई सोल्माबासीले अत्याधिक मत दिए, गाविस अध्यक्षमा ।

जनताका काममा तल्लीन हुन रुचाउने गुरुङ गाउँ विकासका मोडल पनि मानिन्छन् । जनजाति समुदायका भए पनि होचो कद र सानो शरीरका गुरुङ हक्की स्वभावका छन् । उनी प्रधानपञ्च भएकै समय ०४५ सालमा राजनीतिक कारण ३२ दिन जेलजीवन पनि बिताए । ०४७ साल जेठ २८ गते उनकै गाउँ पुरुन्दीनमा पुर्व पञ्चहरुको समुह र प्रजातान्त्रिक पक्ष बीच दोहोरो भिडन्त भयो ।

सो घटनामा दुवै पक्ष घाईते भए । ‘दुवै पक्षले नराम्ररी कुटाई खाएको थियो’ बिहीवार बसन्तपुर वजारमा सपथ ग्रहणपछि उनले त्यो समयको घटना सम्झिए । ०३८ साल देखि ०४१ साल सम्म गाउँकै कालिका आधारभुत विद्यालयमा शिक्षक रहेका गुरुङ त्यो बेला देखि नै भित्री रुपमा राजनीतिमा सक्रिय थिए । गाउँमै दोहोरो झडप भएको ३ बष पछि उनीमाथि पुर्व पञ्चहरुको समुहले बाटो ढुकेर ज्यानै मार्ने गरी आक्रमण गर्‍यो ।

सदरमुकाम म्याङलुङबजार बाट घरतर्फ फर्किने क्रममा ६ किलोमिटर वर जिरिखिम्ती बजार नजिक पुर्व पञ्चहरुको एक समुहले बाटो ढुकेर उनी माथि आक्रमण गर्‍यो । त्यसबखत पञ्चायतको दवदवा रहेको तेह्रथुममा उनी कम्युनिष्ट विचारधारा बोकेर हिड्ने साहसी कार्यकर्ता थिए । पुर्वपञ्चहरुको आक्रमण बाट उनी सख्त घाईते भए । एमाले जिल्ला कमिटी तेह्रथुमले हेलिकप्टर बोलाएर उनलाई काठमाण्डौं पठायो । लामो समयको उपचारपछि गाउँ फर्किएर उनी राजनीतिमै सक्रिय भए ।

त्यसको केही वर्ष पछि भने उनले राजनीतिको धार वदले । पञ्च हुँदै एमाले सम्म आईपुगेका गुरुङ त्यसपछि भने नेपाली कांग्रेस प्रवेश गरे । केही महिनाअघि भएको नगर अधिवेशनबाट नेपाली कांग्रेस लालीगुराँस नगरकमिटीको अध्यक्षमा उनी चुनिए । यस पटकको निर्वाचनमा भने एमाले उम्मेदवारलाई १ सय ९६ मतान्तरलेपछि पार्दै ६ सय ५४ मत ल्याएर गुरुङ विजयी भएका छन् । ‘चुनावी प्रतिष्पर्धामा मैले कहिले पनि प्रतिष्पर्धीसंग हार व्यहोर्नु परेको छैन,’ गुरुङले कान्तिपुरसँग भने ।

०३४ साल देखिहाल सम्म उनले ५ पटक प्रतिद्वन्द्वीलाई पछि पार्दै चुनावमा विजय हासिल गरिरहेका छन् । पाँच दशक जनप्रतिनिधि भएर काम गरी सकेका ६१ वर्षीय गुरुङ देखि वडावासी पनि खुशी छन् । जनतालाई भेदभाव रहित तवरले सेवा प्रवाह गर्ने आफ्नो बानी भएकाले पनि जनताले संधै मायाँ गरिरहेको हुन सक्ने उनको अनुमान छ । ‘समान ढंगले वडाको विकासमा आफ्नो बाँकी समय खर्चिनेछु,’ वडाध्यक्ष गुरुङले भने । यस पटकको निर्वाचनमा युवा उमेरका उम्मेदवार पनि विजयी भएका छन् ।

युवा जनप्रतिनिधिसँ जोस र जाँगर हुने नै भयो । त्यो जोस र जाँगरलाई थोरै मात्र होस पुर्‍याएर काम गर्न सकियो भने गाउँको विकास गर्न समय नलाग्ने गुरुङको अनुभव छ । विजयी युवा उम्मेदवारलाई पाका उम्मेदवार गुरुङको सुझाव छ, ‘होस नगुमाउनु, जोस र जाँगरका साथ काम गर्नु, जनताले माया गरिरहन्छन् ।’

लालीगुराँस नगरपालिकामा दोस्रोपटक निर्वाचित मेयर अर्जुन मावोहाङका बुवा डम्वरबहादुर मावोहाङ तत्कालिन वसन्तपुर गाविसका अध्यक्ष हुँदा गुरुङ सोल्मा गाविसका अध्यक्ष थिए । पछि नेपाली कांग्रेसमा राजनीति पनिसँगै गरे । उनै माबोहाङका छोरा अर्जुन अघिल्लो स्थानीय तह देखि निरन्तर नगर प्रमुखमा विजयी भइरहेका छन् । बुवा मावोहाङका गाविस अध्यक्षका समकक्षी गुरुङ छोरा अर्जुन मेयर हुँदा भने दुवै कार्यकाल वडाध्यक्ष भएर काम गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?