जुम्लामा कांग्रेस बढ्यो, माओवादी केन्द्र खुम्चियो 

जेष्ठ ५, २०७९

डीबी बुढा

जुम्ला — स्थानीय तहको निर्वाचनअन्तर्गत जुम्लाका सबै तहको नतिजा आइसकेको छ । १ नगरपालिका र ७ गाउँपालिकाको नतिजामा कांग्रेस हाबी देखिएको छ । कांग्रेसले पातारासी,गुठिचौर,तातोपानी,हिमा र कनकासुन्दरी गाउँपालिका जितेको छ । माओवादीको पकड क्षेत्र मानिएका हिमा,तातोपानी र गुठिचौर यस पटक कांग्रेसले जित्यो ।

तातोपानी माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवर, जिल्ला संयोजक वीरबहादुर कुँवरको गृहपालिका हो । पालिका अध्यक्षमा  स्वयं जिल्ला संयोजक कुँवर नै लडेका थिए  तर जित्न सकेनन् । 

कांग्रेसका नन्दप्रसाद चौलागाईंसँग पराजित भए । अघिल्लो स्थानीयतहको निर्वाचनमा कांग्रेसले नगरपालिकासहित ४ पालिकामा प्रमुख जितेको थियो । तीन पालिका माओवादी केन्द्रले जितेको थियो । एक पालिका नेकपा एमालेले जित्यो । 

तर माओवादी केन्द्रले आफूले जितेको पालिकासमेत जोगाउन सकेन । माओवादी केन्द्रले जितेको हिमा,तातोपानी र गुठिचौर गाउँपालिका कांग्रेसले जित्यो । माओवादीको गढ मानिएका यी पालिका कांग्रेसले भत्काइदियो । 

चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिका कांग्रेसले गुमायो । सिंजामा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा माओवादी केन्द्रकै सितली रोकायाले जितिन् । चन्दननाथ नगरपालिकामा कांग्रेसका बागी उम्मेदवार राजुसिंह कठायतले जिते । 

स्थानीयतह निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रले हिमा,तातोपानी र गुठिचौर गाउँपालिका जितेको थियो । कांग्रेसले कनकासुन्दरी, सिंजा,पातारासी र चन्दननाथ नगरपालिका जितेको थियो । नेकपा एमालेले तिला गाउँपालिकामा अध्यक्ष जितेको थियो । 

यो चुनावमा एमालेले कुनै पनि पालिका प्रमुख र उपप्रमुखमा जित्न सकेन । माओवादी केन्द्र तीन पालिकाबाट झरेर दुइटामा सीमित भएको छ । नेपाली कांग्रेस चारबाट बढेर ५ पालिकामा जित हात पारेको छ ।

माओवादी केन्द्रले जिल्ला संयोजक वीरबहादुर कुँवरको पालिकामा नराम्ररी पराजित भयो । पूर्वआन्तरिक मामिला तथा कानुननमन्त्री नरेश भण्डारीको पालिका पनि कांग्रेसले जित्यो । मन्त्री भण्डारीका बुवा हरिबहादुर भण्डारी पराजित भए । माओवादी केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतको नगरपालिकामा स्वतन्त्र उम्मेदवारले जिते । 

पार्टीभित्रको घात,अन्तर्घातका कारण पराजित हुनु परेको माओवादी नेता बताउँदै आएका छन् । लामो समयसम्म गठबन्धन गर्ने भन्दै छलफलमा बित्यो । अन्तिम समयमा तयारी गर्न नपाई मनोनयन गरेर प्रचारप्रसारमा जुट्नु परेकोले माओवादी पराजित हुनु परेको माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले बताए ।

कांग्रेसले नगरपालिकामा टिकट बाँडफाँडमा व्यवस्थापन गर्न नसक्दा पराजित भए पनि जिल्लामा पहिलो स्थान कायम गर्न पुगेको छ । गुठिचौर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दानबहादुर बुढाले जनताले गरेको सही मूल्यांकनले कांग्रेसलाई पहिलो पार्टी बनाउन मद्दत पुगेको बताए । 

माओवादी केन्द्रका नेताले टिकटमा भागबण्डासमेत गरेका थिए । माओवादी केन्द्रका जुम्लामा जित्ने सबै पालिका प्रमुखहरु गजेन्द्रबहादुर महतनिकट मानिन्छन । केन्द्रीय सदस्य गोमा कुँवर र नरेश भण्डारीले टिकट दिएका पालिका प्रमुखहरु सबै पराजित भएका छन् । 

माओवादीभित्रको तीन धारका कारण जुम्लामा माओवादी संकटपूर्ण अवस्थामा पुगेको माओवादी कार्यकर्ताहरु बताउँछन् । कांग्रेसले पनि नगरपालिकामा टिकट दिने कुरामा मिलाउन नसकेका कारण राजुसिंह कठायत स्वतन्त्रमा उम्मेदवारी दिन बाध्य भएका हुन् । 

जिल्लाले पठाएको उम्मेदवारको सूचीको एक नम्बरमा रहेका कठायत पन्छाएर पाँचौँ नम्बरमा रहेका पदमबहादुर शाहीलाई टिकट दिए पनि कांग्रेस नगरपालिकामा कमजोर भएको हो ।

स्थानीय तह निर्वाचन २०७९

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully