मोरङमा कांग्रेस पकड गुमाउँदै, एमाले साख फर्काउँदै

जेष्ठ ५, २०७९

विनोद भण्डारी

विराटनगर — गठबन्धको विरोधमा उत्रिएका कांग्रेस नेता डा. शेखर कोइरालाको गृह जिल्ला मोरङमा स्थानीय निर्वाचनमा अघिल्लो उपलब्ध जोगाउन कांग्रेसलाई धौ धौ परेको छ । अघिल्लो र यसपालीको स्थानीय निर्वाचनलाई आधार मान्दा मोरङमा कांग्रेस पकड गुमाउँदै र एमाले साख फर्काउँदै गरेको देखिएको छ ।

कांग्रेसले गठबन्धमा विराटनगर महानगरको मेयरमा नागेश कोइरालाले चार हजार भन्दाबढी मतान्तरले एमालेसँग अग्रता लिएपनि पहिला जितेका वडा धमाधम गुमाउँदै छ । उसले अघिल्लो पटक जितेका वडा १, ३, १९ एमालेलाई सुम्पिएको छ । कांग्रेसले मेयरमा जित्ने पक्का जस्तै देखिएपनि उसको भागमा वडा दुईचारवटा मात्र पर्ने स्थिती छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसले मेयर र उपमेयर सहित ८ वडा जितेको थियो । यहाँ १९ वडा छन् । त्यसैगरी गठबन्धकै उपमेयरमा जसपाका उम्मेदवार अमरेन्द्र यादव एमालेकी शिल्पा निराला कार्कीसँग झण्डै आधा मतले पछि परेको अवस्थामा गठबन्धन प्रतिको अविश्वास पनि चर्किदै छ । अघिल्लो निर्वाचनमा महानगरमा एमालेले ३ जसपाले ५, माओवादीले १ र स्वतन्त्रले २ वडा जितेका थिए । यसपाली पनि स्वतन्त्रले १ वडा अध्यक्ष जितेका छन् ।

कांग्रेसले अघिल्लो निर्वाचनमा भत्काएको लाल किल्ला यसपाली एमालेलाई नै सुम्पिएको छ । लालकिला मानिएका लेटाङ र उर्लावारी नगरपालिका तथा केराबारी गाउँपालिका मध्ये लेटाङ र केराबारी एमालेलाई बुझाई सक्दा अर्को उर्लावारीमा पनि एमाले जितको नजिक पुगेको छ ।

कांग्रेसले आफनो आधार क्षेत्र भन्दै आएको सुनवर्षी नगरपालिका समेत एमालेको जिम्मा लगाएको छ । विशेश्वर कोइराला भूमिगत हुँदा सुनवर्षी ८ को डाईनिया उनको आधार क्षेत्र थियो भन्न कांग्रेसीहरु अहिलेपनि  हिचकिचाउँदैनन् । त्यहाँ विपी र गिरिजाले आश्रय लिएका उनीहरुका तत्कालीन समकक्षीका घरहरु अझैपनि भेटिन्छन् । डाइनियामा विपी आश्रम नै छ । यही क्षेत्रमा पर्ने रतुवामाई नगरमा भने कांग्रेस जितको नजिक पुगेको छ । सुनवर्षी र रतुवामाई कांग्रेसको घर मानिन्छ । यहाँबाट गिरिजाप्रसाद कोइराला र आमोदप्रसाद उपाध्यायले २०४६ यताका सबै निर्वाचनमा उम्मेदवारी दिँदा गिरिजा सबैमा विजयी र उपाध्याय एक पटक पराजित भएका थिए ।

तर अघिल्ले पटक एमालेले जितेको मिक्लाजुङ र जसपाले जितेको जहँदा गाउँपालिकामा कांग्रेसले यसपाली जित दर्तागर्दा आफनो आधार क्षेत्र र नगरपालिका एमालेलाई बुझाएको पीडा कांग्रेसीहरु बिर्सने प्रयासमा छन् । उसले अघिल्लो पटक जितेको धनपालथान, जहदा, कटहरी र तत्कालीन फोरम लोकतान्त्रिकले जितेको बुढीगंगा गाउँपालिकाको रक्षागर्न सफल भएको छ । 

कांग्रेसले अघिल्ला पटक जितेको सुन्दर हरैंचामा माओवादीसँग गठबन्धन भएपनि मेयरमा झीनो मतान्तरले अग्रता लिँदा उपमेयरमा माओवादीका उम्मेदवार एमालेसँग आधा भन्दाबढी मतले पछि पर्दा त्यहाँपनि गठबन्धनमा अविश्वास देखिएको छ ।

एमालेले आफ्नो लालकिल्ला केराबारी र लेटाङ कांग्रेसबाट खोस्दा अर्को उसको पकड क्षेत्र उर्लावारीपनि खोस्ने पक्का देखिएको छ । एमालेले कांग्रेसको गढ सुनवर्षी इतिहासको पहिलो पटक खोस्दा अघिल्लो पटक उसले जितेको पथरीशनिश्चरे र बेलबारी नगरमा अग्रता लिएको छ । उसले मिक्लाजुङ कांग्रेस र माओवादीको गठबन्धनलाई बुझाउँदा कानेपोखरी पालिकाको रक्षा गरेको छ । त्यसैगरी अघिल्लो पटक माओवादी केन्द्रले जितेको रंगेलीमा दुवै प्रमुख पदमा एमालेले अग्रता लिएको छ । त्यहाँ अघिल्लो पटक माओवादीवाट मेयरमा जितेका दिलीप बगोडिया एमाले प्रवेश गरेर पुन मेयरका उम्मेदवार छन् ।

यसपालीको निर्वाचनमा मोरङमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी महानगर र आसपासका एकआघ पालिकाका वडा अध्यक्ष र सदस्यमा सिमित भएको छ । माओवादी केन्द्रले अघिल्लो पटक जितेको रंगेली एमालेले खोस्ने पक्क छ भने जसपाले जितेको जहदा पालिका कांग्रेसले कब्जा गरिसकेको छ । माओवादीले मिक्लाजुङमा गठबन्धनमा उपप्रमुख जितेको छ ।

मोरङका १७ स्थानीय तहमध्ये विराटनगर महानगर, सुन्दर हरैंचा, बेलबारी, पथरी शनिश्चरे, उर्लावारी, रंगेली, रतुवामाई नगरपालिका र ग्रामथानको अन्तिम परिणाम आउन बाँकी छ ।

स्थानीय तह निर्वाचन २०७९

विनोद

Link copied successfully