लोपोन्मुख हायु जातिबाट वडाध्यक्ष निर्वाचित

जेष्ठ ५, २०७९

गणेश राई

काठमाडौँ — स्थानीय तह निर्वाचनमा लोपोन्मुख हायु जातिको समेत प्रतिनिधित्व भएको छ । विभिन्न दलबाट उम्मेदवार बनेका हायु समुदायका नेताले समेत जितेका छन् । उदयपुर, रामेछाप र सिन्धुलीका विभिन्न वडाहरुमा हायु समुदायका अगुवाहरु वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उदयपुरको कटारी नगरपालिका-११ सिरवानीको वडाध्यक्षमा अनन्त हायु एमालेबाट निर्वाचित भएका छन् । उनले ३ मतको अन्तरमा गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका दीपक बुढाथोकीलाई पराजित गरे ।

अनन्तले ४ सय १५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी बुढाथोकीले ४ सय १२ मत पाएका थिए । अनन्त एमाले उदयपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज समेत हुन् । अनन्तले २०५६ सालमा पहिलो पटक मतदानमा सहभागी भएको र २०६४ सालमा एमालेको सक्रिय सदस्य बनेको बताए । ‘२०६६ सालदेखि म निरन्तर एमाले जिल्ला कमिटी सदस्य र अहिले नगर इन्चार्ज छु,’ एसएलसीसम्म पढेका हायुले भने, ‘लोपोन्मुख हायु जातिको तर्फबाट म जनप्रतिनिधि हुन पाएकोमा खुसी लागेको छ ।’

हायु जातिको पुर्ख्यौली थलो रामेछाप र सिन्धुली मानिन्छ । बसाईसराईको क्रममा अन्य जिल्लामा छरिएर रहेका छन् । पुर्ख्यौली रामेछाप भएपनि चार पुस्तादेखि उदयपुरका कटारी–११ सिरवानी गाउँमा पाँचघर परिवार हायु जाति रहेको र ती परिवारमा ३९ जना जनसंख्या रहेको नवनिर्वाचित वडाध्यक्ष अनन्तले बताए । ‘पार्टीले विश्वास गरेर मलाई वडाध्यक्षमा चयन गर्‍यो, ११ नम्बरका वडावासीले भोट दिनुभयो,’ अल्पसंख्यक लोपोन्मुख समुदायको प्रतिनिधित्व गरेका वडाध्यक्ष हायुले भने, ‘यहाँ हायु कम छौं र अन्य विभिन्न जाति समुदायका छौं । वडावासी निम्ति मैले भाषा, संस्कृति, विकास, निर्माण, विद्युतलगायत आवश्यक योजना लागू गर्नेछु ।’

कटारी नगरपालिका नगपालिका निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठले अल्पसंख्यक लोपोन्मुख समुदायबाट वडाध्यक्ष निर्वाचित भएको बताए । ‘गठबन्धनलाई पराजित गरेर अल्पसंख्यक हायुका प्रतिनिधि चयन भएको छ,’ एमाले केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले कान्तिपुरसित भने, ‘अनन्त हायुले न्यूनतम भोटले जितका छन् ।’

किरात हायु विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष लक्ष्मण हायुले पहिलो पटक वडाध्यक्षको नेतृत्व अनन्तले गरेको बताए । ‘मुलुक संघीय संरचनामा बदलिएपछि पहिलो पटक उदयपुरको कटारी–११ वडाध्यक्षमा अनन्त हायु निर्वाचित हुनु भएको हो,’ तथा एमाले सिन्धुली जिल्ला कमिटी सदस्यसमेत रहेका लक्ष्मणले भने, ‘सिन्धुलीमा २ र रामेछापमा एकजनामात्र वडासदस्य निर्वाचित भएका छन् । अन्य जिल्लामा हायु जातिको राजनीतिक प्रतिनिधित्व छैन ।’

हायु एकता समाजका अध्यक्ष धनबहादुर हायुले अघिल्लो स्थानीय चुनावमा हायु जातिको वडासदस्यमात्र निर्वाचित भएको जनाए । ‘यो पटक कमसेकम एकजना वडाध्यक्षसम्म निर्वाचित भएकोमा खुसी लागेको छ,’ रामेछाप निवासी अध्यक्ष हायुले भने ।

रामेछाप नगरपालिका-७ वडासदस्यमा कांग्रेस पार्टीबाट रामबहादुर हायु निर्वाचित भएका छन् । ‘यसपालि पिछडिएको लोपोन्मुख जातिबाट मलाई पार्टीले विश्वास गरेर सदस्य उम्मेदवारी दिन पाएँ,’ रामबहादुरले भने, ‘मतदाता र जातित्वका साथीहरूले साथ दिनु भयो र जितेको छु । म आफ्नो जिम्मेवारी पूरा गर्नेछु ।’

यसैगरी सिन्धुलीमा एमालेबाट दुईजना हायु प्रतिनिधि वडासदस्यमा निर्वाचित भएका छन् । जसमा कमलामाई नगरपालिका–३ वडासदस्यमा खेमबहादुर राई हायु (राजन) निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका निम्ति ४ सय ६३ मत पाएर निर्वाचित भएका हुन् । यस्तै, सिन्धुलीकै गोलन्जोर गाउँपालिका–३ वडासदस्यमा लक्ष्मी हायु निर्वाचित भएकी छिन् । 

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार हायु जातिको जनसंख्या २ हजार ९ सय २९ रहेको छ । हायु जाति परापुर्व कालदेखि नेपालको रामेछाप जिल्लाको पनि मुडाजोर क्षेत्रलाई केन्द्र बनाएर आफ्नो राज्य संञ्चलन गरेर बसेको इतिहास रहेको अध्यक्ष धनबहादुर उल्लेख गर्छन् । 

‘मल्लकालीन शासनकालमा रामेछापको कोशी आसपासमा हायुको राज्य थियो,’ अध्यक्ष हायुले भने, ‘मल्लका सेनाहरूले राज्य हड्प्ने क्रममा हायुका मुख्तियारी अर्थात् मुख्य पुजारीलाई मार्न खोज्दा भागेर मुडाजोरमा रहेको महाकाली देवीको मन्दिर जसलाई हायुले उप्छिमी रानीको मन्दिर भन्दछौं । फोजो त्यहाँ लुक्न पुगेछ र मार्न खोज्दा अलप भएछ । त्यसपछि मल्ल राजाले हायुलाई जागिर नदिनु भन्ने आदेश दिए । त्यसयता फोजोका सन्तान हामी हायु जाति सबै क्षेत्रमा अवसरबाट बञ्चित भयौं । लोपोन्मुख जातिमा परेका हौं ।’ त्यसपद्धि कोही भुजेल, कोही मगर, कोही राई थर परिवर्तन गरेकाले हायु लोपोन्मुख जातिमा परेको अध्यक्ष धनबहादुरको कथन छ । 

 तस्बिर सौजन्य : ज्ञानेन्द्र श्रेष्ठ र लक्ष्मण हायु

स्थानीय तह निर्वाचन २०७९

गणेश

Link copied successfully