धादिङको त्रिपुरासुन्दरीमा गठबन्धनका उम्मेदवार निर्वाचित

जेष्ठ ५, २०७९

सरिता श्रेष्ठ

धादिङ — धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजु उप्रेती तथा उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का देवराज धरेल निर्वाचित भएका हुन् । 

अध्यक्षमा निर्वाचित कांग्रेसका उम्मेदवार उप्रेतीले ६ हजार ७ सय ७१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका उम्मेदवार उमेशकुमार थापा क्षेत्रीले ५ हजार १ सय २६ मत प्राप्त गरे । 

उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रका उम्मेदवार देवराज धरेलले ६ हजार ३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उपाध्यक्ष उम्मेदवार संगीता कुमालले ५ हजार २ सय १० मत प्राप्त गरिन् ।

गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका भीमप्रसाद भट्ट, वडा नम्बर २ र ३ मा क्रमशः एमाले उम्मेदवार कृष्णबहादुर खत्री र कमलबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ४ मा कपिलदेव सिम्खडा, वडा नम्बर ५ मा कुशबहादुर सिटौला, वडा नम्बर ६ मा हरि विक, वडा नम्बर ७ मा सुवास अधिकारी माओवादी केन्द्रबाट उम्मेदवार भई अध्यक्षमा निर्वाचित भएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

सरिता

Link copied successfully