झापा — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्ण सिटौलाको गृहनगर भद्रपुरमा कांग्रेस–माओवादी गठबन्धन असफल भएको छ । प्रमुखमा कांग्रेसका युवा नेता गणेश पोखरेल विजयी भए पनि माओवादीबाट उपप्रमुखमा उठेका शिवकुमार राजभण्डारी राप्रपाकी राधा कार्कीसँग पराजित भएका छन् ।
प्रमुखमा विजयी पोखरेलले १२ हजार ५ सय २५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका असारु राजवंशीले ९ हजार ७ सय ५९ मत प्राप्त गरे । उपप्रमुखमा राप्रपाकी कार्कीले ९ हजार २ सय ३० मत पाउँदा गठबन्धनका उम्मेदवार राजभण्डारीले ८ हजार ५ सय ३३ मत पाए ।
आधाभन्दा बढी मत गन्दासम्म गठबन्धनका दुवै उम्मेदवार अगाडि थिए । तर, वडा नम्बर ९ को गणना सुरु भएदेखि राप्रपाकी कार्कीले राजभण्डारीलाई उछिनेकी हुन् ।कांग्रेस नेता सिटौलाको वडा नम्बर १० मा एमालेका टेकबहादुर खड्काको प्यानलै विजयी बनेको छ ।
२०७४ को निर्वाचनमा भद्रपुरको प्रमुखमा एमालेका जीवनकुमार श्रेष्ठ र उपप्रमुखमा चन्द्राकुमारी श्रेष्ठ विजयी भएका थिए । यसपटक यी दुवै नेतालाई छाडेर असारु राजवंशी र कौशल्या अधिकारीलाई मौका दिइएको थियो ।
