काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

जेष्ठ ५, २०७९

नगेन्द्र अधिकारी

काभ्रे — नमोबुद्ध नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनतर्फका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा निर्वाचित भएका हुन् ।

प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३ सय ८९ मतको अन्तरले पराजित गरेका हुन् । लामाले ११ हजार २ सय ११ र भुर्तेलले ५ हजार ८ सय २२ मत प्राप्त गरेका छन् । 

अहिले प्रमुखमा निवार्चित लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुखमा नै एमालेका टंकप्रसाद (टिपी) शर्मासँग ३ सय ८५ मत अन्तरले पराजित भएका थिए । एमालेका शर्माले ५ हजार ३ सय ४६ मत ल्याएर निर्वाचित हुँदा लामाले ४ हजार ९ सय ६१ मत ल्याएका थिए ।

उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६ सय ४४ मतले पछि पार्दै गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा निर्वाचित भएका छन् । लामाले ८ हजार १ सय ८७ र एमालेकी सम्झना लामाले ६ हजार ५ सय ४३ मत प्राप्त गरेकी छन् । 

अहिले उपप्रमुखमा निर्वाचित लामा २०७४ सालको निर्वाचनमा नगर प्रमुख पदमा तेस्रो भएका थिए । एमालेका शर्माले ५ हजार ३ सय ४६ मत ल्याएर निर्वाचित हुँदा लामाले ३ हजार ८ सय ६७ मत प्राप्त गरेका थिए । 

कांग्रेसले वडा नं २? ३, ५, ६ र ९ गरी ५ वडा, एमालेले वडा नं ४, ८ र ११ माओवादी केन्द्रले वडा नं ७ र १० र वडा नं १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

योसँगै काभ्रेका १३ वटा पालिकामध्ये ३ वटामा गठबन्धनतर्फका उम्मेदवार विजयी भइसकेका छन् । 

स्थानीय तह निर्वाचन २०७९

नगेन्द्र

Link copied successfully