कैलारीमा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका चौधरी विजयी 

जेष्ठ ५, २०७९

मोहन बुडाऐर

धनगढी — सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । उनले गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई ४ हजार बढीको मतान्तरले पराजित गरेका हुन् ।

राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले  १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरिन् । 

कैलारी गाउँपालिका १ देखि ९ वडासम्म कांग्रेसका प्यानल नै जितेको छ । 

उम्मेवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझ चौधरीको उम्मेदवारी कायम रहेको थियो । उम्मेदवारी फिर्ता लिने समय सीमा सकिएपछि गठबन्धन दलले माओवादीका उम्मेदवार लाजुराम चौधरीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको थियो । तर, गठबन्धनको उक्त सहमति र निर्णयलाई उल्लंघन गर्दै कांग्रेसका रामसमज चौधरी प्रचारमा हिँडेका थिए । उनलाई स्थानीय कांग्रेसले प्रचारमा साथ दिएका थिए ।

कांगेसका जिल्लास्तर तथा केन्द्रस्तरका नेताहरू भने गठबन्धनको आधिकारिक उम्मेदवार नभएकोले खुलेर साथ दिएका थिएनन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरीलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको थियो । 

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कैलारीको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसले कैलारी गाउँपालिकामा बेइमानी गरेको बताएका थिए ।

स्थानीय तह निर्वाचन २०७९

मोहन

Link copied successfully