वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा एमालेले सुरुवाति अग्रता लिएको छ । वडा नम्बर-१ र १६ को दुई सय मत गणना गर्दा एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार मोहनमाया ढकालले १ सय १४ मत ल्याएकी छन् ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका साझा उम्मेदवार कांग्रेसका उपेन्द्र खड्काले ८५ मत ल्याएका छन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत ल्याएका छन् ।
त्यस्तै सुर्खेतको बराहताल गाउँपालिकामा नेकपा माओवादीले सुरुवाति अग्रता कायम गरेको छ । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रवार सम्पन्न भएको मतदानमा माओवादीले वडा नम्बर १ मा तीन सय मत गणना हुँदा एक सय १६ मत प्राप्त गरेको छ ।
यस्तै नेपाली कांग्रेसले ९१ मत प्राप्त गरेको छ । नेकपा एमालेले ७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।
