पाल्पाका १० वटै पालिकामा मतगणना सुरु
पाल्पा — पाल्पाको १० वटै पालिकामा मतगणना सुरु भएको छ । तानसेन नगरपालिका, रामपुर नगरपालिका, बगनासकाली, माथागढी, रम्भा, पूर्वखोला, तिनाउ, रैनादेवी छहरा, निस्दी, रिब्दीकोट गाउँपालिकामा मतगणना सुरु भएको हो ।
सर्वदलीय बैठक बसेर रम्भा, माथागढी र पूर्वखोलाले बिहान सबेरैबाट मतगणना सुरु गरेका हुन् । अन्य स्थानीय तहमा पनि मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बस्न ढिलाई हुँदा निस्दीमा केही ढिला भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तानसेनमा वडा नम्बर १ बाट मतगणना सुरु भएको छ । जिल्लामा १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेकाेमा १ लाख ३७ हजार ८ सय ३१ मत खसेको छ । अर्थात् पाल्पामा ६९ दशमलव २ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
पाल्पामा १ सय १८ वटा मतदान स्थलमा २ सय ४७ मतदान केन्द्र रहेको थियो । तानसेन नगरपालिकामा ३३ हजार ७ सय ६९ मतदाता रहेकोमा २३ हजार २ सय ५३ मत खसेको छ । तानसेनमा २२ वटा मतदान केन्द्र र ४४ वटा मतदानस्थल रहेका थिए । रामपुर नगरपालिकामा २९ हजार ६७ जना मतदात रहेकोमा २१ हजार ३ सय ८५ मत खसेको छ । रामपुरमा १४ वटा मतदानस्थलमा ३५ वटा मतदान केन्द्र रहेका थिए । तिनाउ गाउँपालिकाका १४ हजार ३ सय ८६ मतदाता रहेकामा १० हजार ४ सय २ मत खसेको छ । तिनाउमा १० वटा मतदानस्थलमा १८ वटा मतदान केन्द्र रहेका थिए ।
निस्दी गाउँपालिकाका १५ हजार ८५ जना मतदाता रहेकामा १० हजार ५ सय १५ मत खसेको छ । निस्दीमा ९ वटा मतदानस्थलमा १९ वटा मतदान केन्द्र रहेका थिए । पूर्वखोला गाउँपालिकामा १३ हजार ६ सय ९८ जना मतदाता रहेकोमा ८ हजार ८ सय ६० मत खसेको छ । पूर्वखोलामा ९ वटा मतदानस्थलमा १७ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख रुकमागत अर्यालले बताए ।
यसैगरी बगनासकाली गाउँपालिकामा १९ हजार ८ सय ३९ जना मतदाता रहेकोमा १३ हजार ७ सय १७ मत खसेको छ । बगनासकालीमा ११ वटा मतदानस्थलमा २२ वटा मतदान केन्द्र रहेका थिए । माथागढी गाउँपालिकामा १९ हजार ३ सय ४७ जना मतदाता रहेकोमा १३ हजार ३ सय १ मत खसेको छ । माथागढीमा १० वटा मतदानस्थलमा २३ वटा मतदान केन्द्र रहेका थिए ।
रम्भा गाउँपालिका १७ हजार ६ सय ६३ जना मतदाता रहेकोमा ११ हजार ४ सय ५४ मत खसेको छ । ९ वटा मतदान स्थलमा २१ वटा केन्द्र रहेका थिए । रिव्दीकोट गाउँपालिकामा १६ हजार ३ सय ९५ जना मतदाता रहेकोमा ११ हजार २ सय ५९ मत खसेको छ । रिब्दीकोटमा १० वटा मतदान स्थलमा २१ वटा मतदान केन्द्र रहेका थिए । रैनादेवी छहरा गाउँपालिकामा २० हजार ४ सय ४१ जना मतदाता रहेकोमा १३ हजार ६ सय ८५ मत खसेको छ । १४ मतदान स्थलमा २७ वटा मतदान केन्द्र रहेका थिए । पाल्पामा १४ वटा राजनीतिक दलले स्थानीय तह निर्वाचनको लागि दल दर्ता गराए पनि नौ दलले मात्र पालिकाहरुमा उम्मेदवारी दिएका छन् ।
प्रकाशित : वैशाख ३१, २०७९ १२:१७