चुमनुब्रीमा बोकेरै मतपेटिका ल्याइँदै, संकलन गर्न अझै दुई दिन लाग्ने - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

चुमनुब्रीमा बोकेरै मतपेटिका ल्याइँदै, संकलन गर्न अझै दुई दिन लाग्ने 

हरिराम उप्रेती

गोरखा — भौगोलिक हिसावले विकटमा रहेको चुमनुब्री गाउँपालिकामा मतपेटिका संकलन हुन अझै दुई  दिन लाग्ने भएको छ । शनिबार बिहानसम्म पाँच वटा केन्द्रको मात्र मतपेटिका चुमनुब्री गाउँपालिका–३ फिलिमस्थित निर्वाचन अधिकृतको कार्यालय आइपुगेको छ । 

अझै १६ वटा केन्द्रको मतपेटिका आउन बाँकी रहेको चुमनब्री गाउँपालिका निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए । ‘भोलि बेलुकासम्म मतपेटिका आइपुग्ने अनुमान गरेका छौँ,’ उनले भने । मतपेटिका ढुवानीका लागि निर्वाचन आयोगले हेलिकप्टरको व्यवस्था नगर्दा मानिसले बोकेरै मतपेटिका ढुवानी गरिएको हो । चुमनुब्री गाउँपालिका–१ साम्दोको मतदान केन्द्रबाट फिलिमको निर्वाचन अधिकृतको कार्यालय आइपुग्न कम्तिमा तीन दिन लाग्छ । साम्दोका कर्मचारीहरु शुक्रबार नै मतपेटिका बोकेर सिर्दिवासतर्फ झरेका छन् । १ नम्वर वडाको सामागाउँ र साम्दो तथा ल्होका दुई वटा मतदान केन्द्रको मतपेटिका भोलि (आइतबार) साँझ सम्म आइपुग्ने अनुमान गरिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए ।

चुमनुब्री गाउँपालिका–७ छेकम्पार मतदान केन्द्रको मतपेटिका भने आज (शनिबार) साँझसम्म आइपुग्ने अनुमान गरिएको छ । मतपेटिका ढुवानीका लागि निर्वाचन आयोगसँग हेलिकप्टरको ब्यवस्था गरिदिन अनुरोध गरेपनि स्वीकृत नभएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘तीन वटै सुरक्षाकर्मी मतपेटिकासँगै हुनुहुन्छ, सुरक्षित ढंगले मतपेटिका ल्याउने काम भइरहेको छ,’ उनले भने ।


प्रकाशित : वैशाख ३१, २०७९ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्

डुंगेश्वर–१ मा माओवादीका राना विजयी

ज्योति कटुवाल

दैलेख — डुंगेश्वर गाउँपालिका –१ को वडाअध्यक्षमा माओवादीका उम्मेद्वार श्याम राना विजयी भएका छन् । 

रानाले ७ सय ८१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका लोगबहादुर डाँगीले ५ सय २४ मतले पराजित भएका हुन् । उक्त पालिकामा गठबन्धन भएको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाभर एक वडा सदस्य मात्रै जितेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×