बैतडीका सबै पालिकामा मतगणना सुरु 

दशरथचन्दको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसको अग्रता 

वैशाख ३१, २०७९

तृप्ति शाही

बैतडी — बैतडीका सबै पालिकामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जिल्लाका सबै पालिकामा मतगणना सुरु भएको बताए । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा लगायत केही पालिकामा शुक्रबार रातिबाटै मतगणना सुरु भएको उनले बताए । बाँकी रहेका पालिकामा शनिबार बिहानबाट सुरु भएको उनले बताए ।

जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा एमाले र कांग्रेसको मुख्य प्रतिस्पर्धा भइरहेको छ । प्रमुखमा एमालेका पुष्करराज जोशीले ४ सय ८७ मत सहित अग्रता लिएका छन् । कांग्रेसका गजेन्द्रसिंह रावलको ४ सय ४२ मत आएको छ ।

यस्तै उपप्रमुखमा कांग्रेसकी कौशिला चन्दले अग्रता लिएकी छन् । चन्दले ४ सय ६० मत प्राप्त गर्दा एमालेकी सरस्वती नेपालीले ४ सय ४७ मत ल्याएकी छन् ।

शिवनाथ १ मा कांग्रेसका उम्मेदवार विजयी

बैतडीको शिवनाथ गाउँपालिका १ को अध्यक्षमा कांग्रेसका बलदेवसिंह चाड विजयी भएका छन् । सात सय मतसहित उनी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका देवसिंह साउदले ४ सय ७० मत ल्याएका छन् । वडा सदस्यहरूमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् 

शिवनाथ गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता लिएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका कर्णसिंह साउदले ५ सय १५ मत ल्याएका छन् भने एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार हजारी साउदले ३१५ मत ल्याएका छन् । 

यस्तै उपाध्यक्ष पदमा गठबन्धनका उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र साउदले ४०४ र एमालेकी शकुन्तला साउदले ३४८ मत ल्याएकी छन् । शिवनाथमा सत्तासाझेदार दलहरुको गठबन्धन छ ।

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully