रामेछापको गोकुलगंगामा कांग्रेस र लिखु तामाकोशीमा एमालेलाई अग्रता  

वैशाख ३१, २०७९

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार काजिबहादुर खड्काले अग्रता लिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोकुलगंगा गाउँपालिकाको ९ सय ८४ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार काजिबहादुर खड्काले ५ सय १० मत प्राप्त गरेर अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका खड्गबहादुर सुनुवारलाई ४ सय ८ मत प्राप्त भएको छ । 

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै उषा कार्कीले ५ सय ३३ मत पाएर अग्रता लिएकी छिन् भने उनलाई एमालेकी राधिका श्रेष्ठ नेवारले ३ सय ८८ मत ल्याएर पछ्याइरहेकी छिन् । वडा नम्बर १ को चुचुरेबाट मत गणना सुरु भएको हो ।

यसैगरी लिखु तामाकोशी गाउँपालिकामा सुरुवाती अग्रता नेकपा एमालेले गरेको छ । एमालेका उम्मेदवार कमल कडरीयाले २ सय ३० मत पाएका छन् । नेपाली कांग्रेसका केशव महतले २ सय १३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकी दीपा पाख्रीन २ सय ४० मतसहित अग्र स्थानमा छिन् भने कांग्रेस उम्मेदवार सरस्वती खड्काले १ सय ९७ मत पाएकी छिन् । उक्त पालिकामा दुरागाउँबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

अन्य पालिकामा मतगणना थालिएको छैन । केही स्थानीय तहमा मतगणनाका लागि सर्वदलीय बैठकको तयारी हुँदै छ । 

स्थानीय तह निर्वाचन २०७९

टीकाप्रसाद

Link copied successfully