कञ्चनपुरका ४ पालिकामा मतगणना सुरु

वैशाख ३१, २०७९

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा ४ स्थानीय तहमा मतगणना सुरु भएको छ । दोधारा चाँदनी र बेलौरी नगरपालिका तथा बेलडाडी र लालझाडी गाउँपालिकामा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको हो ।

मत गणनाको सुरुवाती परिणाम अनुसार बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका पोतीलाल चौधरी ३८९, नेपाली कांग्रेसका हरेन्द्र विष्टले २४९ र एमालेकी कमला बोहराले २४५ मत प्राप्त गरेकी छिन् । 

चाँदनीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका गोपालदत्त भट्टले ४२, एमालेका किशोर लिम्बुले २४ र स्वतन्त्र भीमबहादुर कुमालले १० मत प्राप्त गरेका छन् ।

यसैगरि बेलडाडी गाउँपालिकामा नेपाली कांग्रेसका हरिशचन्द्र रानाले ८८ मतसहित अग्रता लिएका छन् । एमालेका अक्कल विष्टले ५९ र माओवादी केन्द्रका इश्वरीदत्त भट्टले ४३ मत प्राप्त गरेका छन् । लालझाडी गाउँपालिकामा पनि कांग्रेसका श्रीकृष्ण रानाले ४६४ मतसहित अग्रता लिएका छन् । माओवादी केन्द्रका मदनसेन बडायकले ३४९ र एमालेका निर्मल रानाले २६६ मत प्राप्त गरेका छन् । 

जिल्लाका पुनर्बास नगरपालिका बाहेकक अन्य ४ पालिकामा शनिबार सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पुनर्बास नगरपालिका १० मा मतदान स्थगित भएका कारण उक्त वडाको निर्वाचनपछि मात्रै मतगणना गरिने पुनर्बासकी निर्वाचन अधिकृत किरण जोशीले बताइन् । 

स्थानीय तह निर्वाचन २०७९

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully