१ करोड १९ लाखले गरे मतदान

१ करोड ७७ लाख ३३ हजार मतदातामध्ये ६६.८६ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक
कर्णालीमा सबैभन्दा बढी ७० प्रतिशतले मतदान गरेका छन् भने वाग्मतीमा सबैभन्दा कम ६४.१६ ले मात्र
मकर श्रेष्ठ

काठमाडौँ — स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मध्यराति उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदातामध्ये १ करोड १८ लाख ५६ हजारले मतदान गरेका छन् ।

१ करोड १९ लाखले गरे मतदान

विवादका कारण दिउँसो हुन नसकेको मतदान मध्यरातिसम्म जारी रहेको र केही पालिकाको तथ्यांक अद्यावधिक हुन बाँकी रहेको आयोगले जनाएको छ । ‘यकिन विवरण आउन बाँकी भएकाले अझै यो प्रतिशत बढ्न सक्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने । २०७४ को स्थानीय तह निर्वाचनमा ७४.५२ प्रतिशतले मतदान गरेका थिए ।

आयोगका अनुसार कर्णालीमा सबैभन्दा बढी ७० प्रतिशतले मतदान गरेका छन् भने वाग्मतीमा सबैभन्दा कम ६४.१६ ले मात्र । धेरै मतदाता भएको काठमाडौंमा नै ६९.७८ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ । ‘जहाँ धेरै (काठमाडौं जस्तै) मतदाता हुनुहुन्थ्यो, अलि कम मतदान हुनेबित्तिकै कुल प्रतिशत कम हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको उनले बताए । धेरै जनसंख्या भएका जिल्लामा अपेक्षाअनुसार कम मतदान भएको उनले बताए । ‘मतदान प्रतिशत बढ्न पनि सक्छ तर हामी यो तथ्यांकमा खुसी छैनौं, यो आयोगले अनुमान गरेको भन्दा फरक तथ्य हो,’ उनले भने, ‘आयोगले यसअघि ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो । अपेक्षाअनुसार मतदान भएन कि भन्ने हामीलाई लागेको छ ।’

२०४७ यता पहिलो पटक सबै स्थानीय तहमा एकै चरणमा निर्वाचन भएको हो । राजनीतिक दल तथा उम्मेदवारबीच विवाद हुँदा १६ जिल्लाका ४३ मतदान स्थलको ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको आयोगले जनाएको छ । ‘राजनीतिक दल र उम्मेदवारबीच अत्यन्तै सानातिना विवाद झाँगिँदै जाँदा केही ठाउँमा प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आयो,’ थपलियाले भने, ‘स्थगन गरिएका मतदान केन्द्रमा सम्बन्धित निर्वाचन कार्यालय र आयोगसँग समन्वय गरेर छिट्टै पुन: मतदान गर्ने आवश्यक तयारी गरिरहेका छौं ।’ मतदान स्थगित भएका स्थानमा आयोगले अन्यथा निर्देशन दिएको बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुन: मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गर्नेछ ।

लुम्बिनी र गण्डकीमा कुनै पनि मतदान केन्द्रमा स्थगित भएको जानकारी नआएको आयोगले जनाएको छ । प्रदेश १ मा एक, मधेसमा २९, वाग्मतीमा ५, कर्णालीमा ६, सुदूरपश्चिमा ३३ मतदान केन्द्रमा स्थगित भएको आयोगले जनाएको छ । बाजुराको बूढीगंगा नगरपालिकामा निर्वाचन हुनै सकेको छैन । नगरपालिकाको १ देखि १० वडासम्म २० वटा मतदान केन्द्र निर्धारण गरिएको थियो । ‘कुनै पनि केन्द्रमा मतदान हुन सम्भव भएको देखिएन,’ आयोगका एक कर्मचारीले भने । सुरक्षाकर्मी नभएको, मतदान अधिकृतले निर्वाचन स्थगित गर्न सक्ने स्थिति नभएपछि एकपक्षीय मतदान भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण भए पनि एकै पटक निर्वाचन हुँदा केही स्थानमा सुरक्षा प्रबन्धमा समस्या आएको महसुस भएको बताए । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा राजनीतिक दलहरूको भूमिकाप्रति चिन्तित भएको उनले उल्लेख गरे । ‘राजनीतिक दलहरूका उम्मेदवारबीच जुन सुझबुझपूर्ण सम्बन्ध र सहयोग हुनुपर्ने हो, तदअनुसार व्यवस्था गर्न नसक्दा, साह्रै सानातिना कुरामा पनि अनावश्यक विवाद सिर्जना भई उग्ररूप लिन पुग्यो,’ थपलियाले भने, ‘सुरक्षा व्यवस्था र राजनीतिक दलहरूको व्यवस्थापनका विषयमा आयोग चिन्तित र सशंकित भएको अवस्था स्पष्ट गर्न चाहन्छु ।’

आयोगले हिमपात भएको र पैदल ल्याउँदा समय लाग्ने स्थानको मतपत्र हेलिकोप्टरबाट ढुवानी गर्न लागेको छ ।

उत्साहजनक रूपमा निर्वाचन सम्पन्न : देउवा

सरकार र अन्य प्रमुख राजनीति दलहरूले स्थानीय तह निर्वाचनको मतदान मूलत: शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएका छन् । ‘शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकामा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु,’ शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका छन् । निर्वाचनमा जनताको उत्साहपूर्ण सक्रिय सहभागिता, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको देउवाको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकाहरूमा अत्यन्त उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको छ,’ देउवाले भनेका छन्, ‘दशकौंको अविराम लोकतान्त्रिक संघर्ष यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्न सार्वभौम नेपाली नागरिकहरूले देखाउनुभएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ ।’

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले भने विभिन्न षड्यन्त्रका बीच निर्वाचन सफल भए पनि मतदानमा सत्ता पक्षले अलोकतान्त्रिक अभ्यास गरेको तथा गृह प्रशासनले सन्तुलन गुमाएको आरोप लगाएका छन् । ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्राविरुद्ध अग्रिम नक्कली मतपत्रसमेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गर्‍यो,’ ओलीले भनेका छन्, ‘लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँचदलीय सत्ता गठबन्धनबाट यस प्रकारको अधिनायकवादी कार्य भयो । ती स्थानमा गृह प्रशासन अस्वाभाविक रूपमा असन्तुलित देखियो ।’

ओलीले बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन जारी रहेकै बेला रहस्यमय ढंगले सुरक्षाकर्मीलाई हटाई निर्वाचन बिथोल्न खोजिएको, केही पालिका प्रमुखका उम्मेदवारहरूलाई मतदान केन्द्र निरीक्षणमा बाधा पुर्‍याइएको भन्दै स्वतन्त्र निर्वाचनका विरुद्ध भएका यस्ता घटनाको विरोध गरेका छन् ।

दर्जनभन्दा बढी पालिकामा रातिबाटै मतगणना

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना दर्जनभन्दा बढी पालिकामा राति नै सुरु भएको छ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । चामे गाउँपालिकामा मध्यरातसम्मको मतगणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ । कुल ५ वटा वडामध्ये २ वडाको मतगणना भइसक्दा एमालेका अध्यक्ष उम्मेदवार लोकेन्द्रबहादुर घलेले १५२ र उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले १५४ मत ल्याएकी छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर १ को मतगणनामा एमालेका अध्यक्ष सञ्जयकुमार थकालीले अग्रता लिएका छन् । उनले १४९ र कांग्रेसका अध्यक्ष मोहनसिंह लालचनले ४५ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी मिमिकुमार शेरचनले ७२, कांग्रेसकी जमुना थापा मगरले ५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १८ मत ल्याएको मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीले जानकारी दिए । सो वडामा नेपाली कांग्रेसका आशबहादुर थकाली र वडा नम्बर २ मा कांग्रेसकै मनबहादुर हिराचन वडाध्यक्षमा निर्विरोध भएका छन् । यस्तै, वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका परजीव थकाली निर्विरोध निर्वाचित भएका छन् ।

मोरङका ६ पालिकामा पनि मतगणना सुरु भएको छ । मतदान अधिकृतको कार्यालयका अनुसार ८ गाउँपालिकामध्ये धापालथान, ग्रामथान, जहदा, कटहरी, मिक्फाजुङ र कानेपोखरीमा मतगणना सुरु भएको हो । गुल्मीको रेसुंगा नगरपालिकामा पनि मतगणना सुरु भएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ ०६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?