मतदानमा वृद्धवृद्धालाई सास्ती

वैशाख ३०, २०७९

अर्जुन राजवंशी

बिर्तामोड — घिनु राजवंशी दुर्घटनामा परेर भाँचिएको दायाँ खुट्टामा स्टिल लगाएका कारण हिँडडुल गर्न सक्दिनन् । घरैमा उपचार गराइरहेकी ८२ वर्षीया राजवंशी शुक्रबार भने छ महिनापछि घरबाहिर निस्कनै पर्ने भयो, भोट दिन ।  बाह्रदशी गाउँपालिका ७ निवासी राजवंशीको घर डाँगीबारीस्थित गौरीशंकर माविको मतदान केन्द्रबाट करिब दुई किलोमिटर टाढा छ । उनलाई लिन उम्मेदवारले घरमै जीप पठाए । जीपमा चढेर आएकी राजवंशीलाई गौरीशंकर माविको गेटदेखि मतदान केन्द्रसम्म पुग्न भने चार पल्ट आराम गर्नुपर्‍यो । भतिजा योगबहादुरले हात समाउँदै विस्तारै केन्द्रसम्म पुर्‍याए । 

उनीसँगै मतदान गर्न आएकी ८६ वर्षीया झरी राजवंशीको अवस्था पनि उस्तै छ । उनी एक्लै उभिन सक्दिनन् । लौरो टेकेर पनि हिँड्न नसकेपछि दुई जना स्वयम्सेवकले दुईतिर हात समाएर उनलाई मतदान केन्द्रसम्म पुर्‍याए । जिल्लामा २ सय ८६ मतदानस्थलका ७ सय ५५ वटै मतदान केन्द्रमा शुक्रबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भयो ।  वृद्धवृद्धा, अपांगता भएका तथा सुत्केरी महिलालाई स्वयम्सेवकको सहयोग र धेरै ठाउँमा केन्द्रमा पुग्नासाथ मतदान गर्न दिइएकाले थोरै राहत पुग्यो । तर, केही मतदान केन्द्रमा वृद्धवृद्धा, अपांगता भएका र सुत्केरी महिलाले समेत लाइन बस्नुपरेको थियो । 

जिल्लाका धेरै मतदानस्थलमा अशक्त, अपांगता भएका तथा विरामी मतदाताका लागि सहयोगी सामग्रीहरुको व्यवस्था थिएन । जसकारण अशक्त, अपांगता भएका, वृद्धवृद्धाले मतदान केन्द्रसम्म पुग्न कठिनाई भोग्नुपर्‍यो । ‘दायाँ खुट्टा टेक्नै सक्नुहुन्न, एउटा ह्विल चियर भएको भए बसाएर आरामले लान सकिन्थ्यो’ घिनु राजवंशीलाई हात समाएर मतदान केन्द्रसम्म लैजाँदै गरेका भतिजा योगबहादुरले भने, ‘कम्तिमा भोटको सुविधा लिने नेताहरुले उहाँ (वृद्धवृद्धा) को लागि यति सोचेको भए राम्रो हुने थियो ।’

निर्वाचन अघिको छलफलमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले सबै मतदानस्थल अपांगता भएका, वृद्ध, महिला, सुत्केरीलगायतलाई सुविधासहित तया हुने बताएका थिए । तर, जिल्लाका धेरै मतदानस्थलमा त्यस्तो सुविधा नदेखिएको निर्वाचन पर्यवेक्षणमा खटिएका नियोग झापाका अध्यक्ष डा.रुपक खनालले बताए । ‘केही ठाउँमा राम्रै व्यवस्थापन देखियो । तर, जिल्लाको दक्षिणी भेगतिर त्यस्तो व्यवस्थापन देखिएन’ खनालले भने, ‘वृद्धवृद्धाहरु पनि मतदानका लागि लाइनमा बस्नु परेको थियो ।’ 

स्थानीय तह निर्वाचन २०७९

अर्जुन

Link copied successfully