धनकुटा — फर्जी मतदान गरेको विषयमा विवाद हुँदा सहिदभूमि गाउँपालिका ६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय र वडा कार्यालय मतदान स्थलका तीन वटा मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।
अनुपस्थित रहेका मतदाताको नाममा मतदान गरेको विषयमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच विवाद उत्पन्न भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए ।
दुवै पक्षबीच विवाद हुँदा मतदान केन्द्र दिनभर तनावग्रस्त बनेको थियो । स्थगित रहेको मतदान कार्य सुरु गराउन अधिकतम सहमतिको प्रयास गर्दा पनि सफल हुन नसकेपछि स्थगित गर्न बाध्य भएको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए । नभएका मतदाताको नामबाट मतदान गरिएको भन्दै विवाद उत्पन्न भएको उनले बताएका छन् ।
सोही विषयमा दिनभर मतदानस्थल अशान्त बन्दै गएकोले स्थगित गरिएको जनाइएको छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मुख्य निर्वाचन अधिकृत पराजुली, सुरक्षा प्रमुखहरु पुगेर विवाद टुंग्याउने प्रयास गरेका थिए ।
उक्त मतदानस्थलका तीन वटा केन्द्रमा २० प्रतिशत मत खसेको थियो । विवाद उत्पन्न भए पनि मतदानका लागि टाढाटाढाबाट मतदातहरु लाइनबद्ध भएर दिनभर बसेका थिए ।
यसैबीच स्थगित रहेको मतदान केन्द्र अर्को सूचना जारी नहुन्जेल स्थगित गरिएको जनाइएको छ । ‘स्थगित गरिएकोबारे निर्वाचन आयोगमा जानकारी पठाइने छ, पराजुलीले भने, आयोगले अर्को मिति तय गरेपछि सोही मितिमा पुन: मतदान हुने छ ।’
