धनुषामा हावाहुरी र वर्षाबीच ६६ प्रतिशत मतदान

वैशाख ३०, २०७९

श्यामसुन्दर शशि

जनकपुर — हावाहुरी र वर्षाका कारण झण्डै दुई घण्टा मतदान अवरुद्ध भएपनि धनुषामा ६६ प्रतिशत मतदान भएको छ । विहान  प्रचण्ड गर्मी तथा अपरान्ह हावाहुरी र वर्षाका बावजूदपनि मतदाताहरु उत्साहका साथ मतदानमा सहभागी भएका छन् । प्रदेश निर्वाचन अधिकृत श्रीधर पन्थीले जिल्लाभर शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको र ६६ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए ।

 ‘१८ वटै स्थानीय तहको एकीकृत तथ्यांक आउन बाँकी छ । तर, हाम्रो प्रारम्भिक अनुमान ६६ प्रतिशत मतदान भयो भन्ने हो,’ उनले भने । जिल्लाका मतदान केन्द्रमा छिटपुट विवाद भएको थियो । डुमरिया चौकमा भएको विवादको कारण झण्डै आधा घन्टासम्म मतदान रोकिएको थियो । त्यसक्रममा प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड रबरको गोली हवाई फायर गर्नु परेको बताए । 

धनुषाका १८ पालिकाका ८ सय ८१ जनप्रतिनिधि चयनका लागि ३ सय २३ मतदान स्थलमा रहेका ५ सय ९६ मतदान केन्द्रमा मतदान भएको थियो । जिल्लामा ४ लाख ६७ हजार मतदाता छन् । 

स्थानीय तह निर्वाचन २०७९

श्यामसुन्दर

Link copied successfully