सुर्खेत — सुर्खेतमा हावाहुरीले रुख ढाल्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–२ रानीघाटका लालबहादुर पुलामीको मृत्यु भएको हो । शुक्रबार दिउँसो आएको हावाहुरी र असिनापानीले सिमलको रुख ढालेको थियो ।
हावाहुरीका कारण वीरेन्द्रनगर–६ वुद्धपथबाट प्रसारित सुर्खेत एफएमको टावरसमेत ढलेको छ । टावर ढलेपछि रेडियोको प्रसारण बन्द भएको छ । त्यस्तै, हावाहुरीका कारण कोहलपुर–सुर्खेत खण्डको ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।
हावाहुरीले विद्युतका पोल ढालेपछि सुर्खेतसहित सात जिल्लाका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण सुर्खेतका अनुसार विभिन्न स्थानमा गरी करिब एक सय बढी पोलहरु ढलेका छन् ।
