काभ्रेका चार केन्द्रमा मतदान स्थगित 

वैशाख ३०, २०७९

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेका ४ मतदान केन्द्रमा करिव ४ घण्टाअघि अवरुद्ध भएको मतदान प्रक्रिया अझै सुरु भएको छैन ।  इच्छाइएको व्यक्तिका नाममा मतदान गर्ने विषयमा विवाद हुँदा ती स्थानमा  झडपको स्थिति आएको हो । 

चौरीदेउराली गाउँपालिका- ६ को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका -१३ को काभ्रेको श्रीराम मावि केन्द्र, तेमाल गाउँपालिका -७ को भूमेश्वर मावि केन्द्र र तेमाल -७  कुशेश्वोर मवि केन्द्रमा अवरुद्ध भएको मतदान अझै सुरु नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । 

चौंरीदेउराली गाउँपालिका ६ को प्रभा मावि केन्द्रमा मतदाताले भनेको भन्दा फरक चिन्हमा मतदान अधिकृतले छाप लगाइदिएको भन्दै विवाद भएको थियो । गठबन्धन दल र एमाले दुवैतर्फका कार्यकर्ता तोडफोडमा उत्रिएका थिए । खाली रहेको मतपेटिकासमेत तोडफोड भएपछि मतदान रोकिएको हो । 

पाँचखाल-१३ मा रहेको सीता मावि मतदान केन्द्रमा सहायक मतदान अधिकृतले एमालेका एक व्यक्तिलाई ३-४ वटा मतपत्र दिन लागेको भन्दै गठबन्धन दलकाले विरोध गरेका थिए । गठबन्धनका एक कार्यकर्ताले मतपत्र नै बोकेर हिँडेपछि एक्कासि ढुङ्गामुढा भएको थियो ।  विवाद बढ्दै जाँदा आक्रोशित भीडले मतदानका लागि प्रयोग गरिएका फर्निचर पनि तोडफोड गरेका छन् । 

तेमाल-७ को भुमेश्वर मावि मतदान केन्द्रमा इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद बढ्दै जादाँ झडपको स्थिति बनेको थियो  । स्थिति नियन्त्रण गर्न प्रहरीले  एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी  हरि खतिवडाले जानकारी दिए । त्यहाँ रोकिएको भएको मतदान अझै सुरु भएको छैन । 

तेमाल- ९ कुशेश्वर मावि केन्द्रमा पनि अशक्त व्यक्तिको नाममा  मतदान गर्ने विषयमा विवादपछि मतदान अवरुद्ध भए पनि सुरु भएको छैन ।

स्थानीय तह निर्वाचन २०७९

नगेन्द्र

Link copied successfully