त्रिपुरासुन्दरीको धुस्कुनमा मतदान पुन: सुरु

वैशाख ३०, २०७९

सीमा तामाङ

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३, धस्कुनस्थित महेन्द्र प्रताप मावि मतदान केन्द्रमा अवरुद्ध मतदान पुन: सुरु भएको छ ।

२ हजार ९ सय मतदाता रहेको उक्त केन्द्रमा कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मी बीच विवाद भएका कारण दुई घण्टादेखि मतदान रोकिएको थियो । केही समय अघिदेखि मतदान सुरु भएको नेविसंघका पूर्वमहामन्त्री बलदेव तिम्सिनाले जानकारी दिए । अहिलेसम्म उक्त केन्द्रमा ८८२ मत मात्र खसेको छ ।

मतदान केन्द्रमा खटिएका कार्यकर्तालाई खाजा लिएर बाहिरबाट मानिसहरु भित्र प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए । सुरक्षाकर्मीले मतदान केन्द्र भित्र पस्न नदिएपछि सुरु भएको विवादले उग्ररुप लिएपछि मतदान रोकिएको हो ।

स्थानीय तह निर्वाचन २०७९

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully