रौतहट, उदयपुर, महोत्तरी — वर्षाका कारण महोत्तरी, रौतहट र उदयपुरमा मतदान प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्रबार मतदान जारी रहेकोमा महोत्तरी, रौतहट र उदयपुरसहित जिल्लामा मतदान प्रभावित भएको हो । महोत्तरीमा वर्षा र हावाहुरीका कारण मतदान अवरुद्ध भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत सुबोध महतोले जानकारी दिए ।
उत्तरी क्षेत्रमा भिषण वर्षा भएकाले त्यस क्षेत्रका केन्द्रमा मतदान अबरुद्ध भएको हो । कतिपय ठाउँमा भने त्रिपाल व्यवस्थापन गरेर समेत मतदानको व्यवस्था गरिएको छ ।
उदयपुरमा अहिलेसम्म ५० प्रतिशत मतदान भएको छ भने पानी पर्न थालेपछि मतदान रोकिएको छ ।
उता रौतहटमा पनि पानी परेपछि मतदान अवरुद्ध भएको छ । जिल्लाको उत्तरी भेगमा पानी परेकोले मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चन्द्रपुर नगरपालिका–२ को वदामा रहेको मतदान केन्द्रमा पानी परेपछि मतदान स्थगित भएको छ ।
कतिपय ठाउँमा भने दलहरूबीच मतदानको क्रममा विवाद हुँदा मतदान कार्य प्रभावित भएको छ । देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको आयोगले जनाएको छ ।
