काठमाडौँ — निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ८ घण्टे स्पष्टीकरण सोधेको छ । मौन अवधिमा प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।
बिहीबार माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई भेटी मत मागेका विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, 'मौन अवधिमा यहाँबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लिखित "मौन अवधिमा पालना गर्नुपर्ने आचरणको उल्लङ्घन भएको छ ।प्रस्तुत सन्दर्भमा यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो ?'
पत्र प्राप्त भएको समयले ८ घण्टाभित्र आयोगमा लिखित जवाफ पेस गर्न पनि आयोगले दाहाललाई अनुरोध गरेको छ । निर्वाचन आचारसंहिताअनुसार वैशाख २७ गते राति १२:०० बजेदेखि मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गतिविधि गर्न पाइँदैन । यसअघि पनि आयोगले दाहाललाई आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
यस्तो छ दाहाललाई सोधिएको स्पष्टीकरण
