पाँचथर, तेह्रथुम — पाँचथरको फिदिम नगरपालिका–४, स्थित सुखबोध मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका छन् । यो केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षा कमान्डको अभिभारा महिलाको काँधमा छ ।
नगरपालिका शिक्षा शाखा प्रमुख निर्मला दाहालको नेतृत्वमा सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित ५ जनालाई दायित्व सुम्पिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजन सुवेदीले जानकारी दिए ।
उनका अनुसार यहाँ सुरक्षा कमान्ड सम्हाल्ने पनि सबै महिला छन् । यो मतदान केन्द्रमा करिब १ हजार २ सय मतदाता छन् । मतदान सम्पन्न गर्नका लागि सर्वदलीय बैठक र अन्य तयारीसँगै व्यवस्थापनको सम्पूर्ण काम सम्पन्न गरिएको अधिकृत दाहालले जानकारी दिइन् ।
त्यस्तै तेह्रथुमको म्याङलुङ नगरपालिका–२, स्थित सिंहवाहिनी मावि ‘ख’ केन्द्रमा पनि मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारीसँगै सुरक्षा कमान्डको सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । म्याङलुङ बजार क्षेत्रमै रहेको यो केन्द्रलाई जिल्लाकै नमुना मतदान केन्द्रसमेत घोषणा गरिएको छ ।
कृषि विकास बैंक शाखा प्रबन्धक सीता खनालको नेतृत्वमा ७ महिला कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । यो केन्द्रमा १ हजार ४ सय ५९ मतदाता छन् ।
