५ हजारको दरले मत किन्न खोजेको अडियो सार्वजनिक
ओखलढुंगा — मोलुङ गाउँपालिका–७ मा दुई महिलाबीच चुनावको विषयमा गिलास हानाहान भयो । विवाद गाउँमै मिल्यो । सिद्धिचरण नगरपालिका–२ निशंखे र वडा ७ विगुटारमा झगडा भयो । दुवै घटना प्रहरीमा मिलापत्र भयो । सिद्धिचरण–४ मा सामान्य कुटाकुट भयो । कतिपय यस्ता घटना प्रहरीमा नपुगी साम्य भएका छन् ।
चम्पादेवी गाउँपालिकाको ७ मा वडाध्यक्षका उम्मेदवार सुरेश थापाले कुटपिट गरेको भन्दै राजु पोख्रेलको निवेदन प्रहरीमा दर्ता भएको छ । ‘छिटफुट झैंझगडाका घटना उजुरीको रूपमा आएका छन्,’ ओखलढुंगा प्रहरीका डीएसपी सुकदेव खनालले भने, ‘गम्भीर प्रकृतिको कुटपिट कतै भएको छैन, उजुरी परेका झगडाका घटना कतै औंला उठाएको, कतै बाइकले ठेलेको, कतै यो बाटो किन हिँडिस् भन्नेजस्ता विषयमा छन् ।’
चुनावका बेला मतदाता–कार्यकर्ता पार्टी र उम्मेदवारको समूहमा विभाजित हुने भएकाले सामान्य विषयमा पनि झगडा हुने गरेको छ । त्यसका लागि प्रत्येक गाउँटोल र मतदानस्थलहरूमा गस्ती गरिरहेको प्रहरीले जनाएको छ । मौन अवधिको अघिल्लो दिन मंगलबार सिद्धिचरण–११ का वडाध्यक्षका उम्मेदवार कांग्रेसका विनोद ताम्राकारले मतदातासँग ५ हजारको दरले मत किन्न खोजेको अडियो सार्वजनिक भयो ।
उक्त अडियो सामाजिक सञ्जालमा आएपछि उनको चर्को आलोचना भयो । उम्मेदवार ताम्राकारले विज्ञप्ति जारी गरेर आफूलाई एमाले आबद्ध केहीले फसाउने उद्देश्यले अडियो जोडेर सार्वजनिक गरेको जनाए । तर त्यससम्बन्धी सत्यतथ्य छानबिन कुनै निकायले गरेन । पार्टीमा विभाजित कार्यकर्ताहरूको अर्को समूहले सामाजिक सञ्जालमा एमालेका उम्मेदवार, उनका आफन्तले केही सहकारी र बैंकबाट लाखौं रकम चुनावको मुखमा निकालेर बाँड्ने तयारी गरेको आरोप लगाए ।
चुनावका बेला हुन सक्ने अवाञ्छित गतिविधिको अनुगमन राष्ट्रिय मानवअधिकार आयोगले गरिरहेको छ । राष्ट्रिय पर्यवेक्षण समिति (नियोग) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पनि पर्यवेक्षण गरिरहेको छ । आयोगको खोटाङस्थित कार्यालयका प्रमुख श्यामबाबु काफ्लेले अनुगमन गरेको बताए । निर्वाचन बहिष्कार गर्ने वैध माओवादी समूहको नाराजुलुस होस् वा चुनावमा सहभागी दलहरूले निकालेको प्रचार र्याली, बालबालिकालाई नचाएको, पर्चा, पम्प्लेट र ब्यानर बोकाएर हिँडाएको देखिएको छ । स्थानीयवासीका अनुसार चुनाव आफ्नो पक्षमा पार्न उम्मेदवारले अनेक हत्कण्डा गर्ने भएकाले यो संवेदनशील समय हो । जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्री चुनाव अवधिभर बन्द गर्ने सूचना जारी गरे पनि नियमन हुन सकेको छैन । कुटपिट, झैंझगडाका अधिकांश घटना मदिरा सेवनका कारण भएको स्थानीय बताउँछन् ।
