'बाँकी काम पूरा गर्न दोस्रो पटक उम्मेदवारी'- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'बाँकी काम पूरा गर्न दोस्रो पटक उम्मेदवारी'

कान्तिपुर संवाददाता

ललितपुर — २०७४ सालको निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिकाको मेयरमा निर्वाचित गजेन्द्र महर्जनले विजयी भएपछि लेलेको खानी क्षेत्रलाई व्यवस्थित गर्ने, नगरलाई पर्यकीय, धार्मिक, सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने, कोर क्षेत्रमा पुराना नेवारी वास्तुकला शैलीका घरहरु पुनर्निर्माण गरेर मल्लकालीन मापदण्ड लागू गर्ने बताएका थिए ।

फेरि मेयर पदमा का‌ंग्रेसबाट प्रत्याशी बनेका महर्जनसँग कान्तिपुरका प्रशान्त मालीले गरेको कुराकानी:

तपाईंको ५ वर्षे कार्यकाल कसरी बित्यो ?

संघीयता लागू भइसकेपछि पहिलो पटक नेपालमा स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहको निर्वाचन र नगरपालिका गठनसँगसँगै भएको कारणले ऐन कानुन, कार्यविधि र विकास निर्माणको काम गरेको छु ।

फेरि उम्मेदवारी दिनु भएको छ । यो पटकको उम्मेदावरी केका लागि हो ?

पाँच वर्षे कार्यकालमा जति क्षेत्रमा मैले विकास निर्माणको काम सुरुवात गरे र कांग्रेसले त्यो कामको मूल्यांकन गरेर फेरि पनि टिकट दिएको छ । साथै आमनगरबासीको पनि एक पटक दोहोर्‍याउनुपर्छ भन्ने आवाज रहेको र बाँकी रहेका काम पूरा गर्नका लागि पनि दोस्रो पटक उम्मेदवारी दिएको हुँ ।

मतदाताले फेरि जिताउनुपर्ने ठोस कारण छ ? जित्नु भयो भने नगरपालिकाको विकास गर्न के–के गर्ने योजनामा हुनुहुन्छ ?

मुख्य कुरा मैले जतिपनि ५ वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, सम्पदाको क्षेत्रमा काम गरे । त्यो अपूरो रह्यो । पाइप लाइनमा रहेका कामहरु आगामी ५ वर्षभित्र पूरा गर्न दोस्रो पटक उम्मेदावारी दिएको छु । मलाई लाग्छ यहीँ पूरा गर्न आम नागरिकले एकपटक फेरि दोहोर्‍याउने मौका दिनु हुनेछ ।

अहिले गोदावरी नगरपालिकाको मुख्य समस्या के के हुन् र ती समस्या समाधान कसरी गर्ने योजनामा हुनुहुन्छ ?

मुख्य समस्या भनेको सडकको हो । नयाँ नगरपालिका भएकाले पूर्वाधारको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । सुरुवात भएको छ भर्खरै । स्थानीय सरकार अन्तर्गत नभएका कारण मुख्य सडक निर्माण पूरा गर्न अझै पनि सकिरहेको अवस्था छैन । संघीय सरकार अन्तर्गत रहेको सडक निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । खानेपानी, मठमन्दिर पुनर्निर्माणलगायत अरू पर्यटकको क्षेत्रमा धेरै काम गर्नुपर्नेछ ।

अन्य समस्या के-के छन् ?

रोजगारीको समस्या छ । युवाहरू बेरोजगार छन् । आन्तरिक रूपमा स्वरोजगार उत्पादन गर्न मुख्य चुनौती छ । अरू कुरा सडकलाई प्राथमिकतामा राखेको छु । विशेषगरी पूर्वाधारको क्षेत्रमा राम्रो काम गर्न नसकेसम्म विकासले पूर्णता पाउँदैन । स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन गर्न जरुरी छ । आमनगरबासीको पहुँच सहज सलुभ रुपमा गर्न जरुरी छ, त्यही मुख्य समस्या छ ।

स्वास्थ्य र शिक्षामा थप केही गर्ने योजनामा हुनुहुन्छ कि ?

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा काम अगाडि बढाएका छौं । त्यसमा हामी सफल भएको महसुस गरेका छौं । आगामी दिनहरूमा कलेजहरूलाई मात्र नभइ माध्यमिक तहसम्मका लागि अनुदानको व्यवस्था गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउने योजना छ । स्वास्थ्य क्षेत्रमा कोभिडका कारणले पनि धेरै सिक्नुपर्ने अवस्था आएको छ । नितान्त रूपमा आधारभूत आवश्यकता भनेको नगरबासीको स्वास्थ्य र शिक्षामा सहज पहुँच पुर्‍याउने कर्तव्य पनि हो । कुनैपनि नागरिक स्वास्थ्य शिक्षाबाट वञ्चित नहोस् भनेर जिल्ला अस्पताललाई आधुनिक अस्पतालको रूपमा विकास गरेर अगाडि लैजाने योजना छ ।

२०७४ सालको चुनावी घोषणापत्रमा लेले नल्लु क्षेत्रमा सञ्चालित खानी तथा क्रसर उद्योगलाई व्यवस्थापन गर्ने भन्ने योजना कार्यान्वयनको अवस्था कहाँ पुग्यो ?

यसमा चाहिँ कस्तो छ भने राज्यको नीतिमा पनि भर पर्छ । खानी र क्रसरको समस्या हाम्रो मात्र समस्या होइन देशकै समस्या रहेको हुनाले हामी पनि त्यसमा अछुतो रहेन । तैपनि यसलाई व्यवस्थित बनाउन टिकाभैरव क्षेत्रबाट खानीलाई डुकुछाप अथवा देवीचौर क्षेत्रमा सिफ्ट गरेका छौं । त्यहाँ व्यवस्थापन गर्न अझै बाँकी छ । किनभने खानीको व्यवस्थापन गर्दै गर्दा पूर्वाधारलगायतको व्यवस्थापन गर्नुपर्ने जरुरी छ । खानी क्षेत्र राज्यले नतोकेका कारण त्यसको अपजस हामीले खेप्नु परेको अवस्था छ । यसलाई व्यवस्थित गर्न आगामी दिनमा स्थानीय सरकारमार्फत संघीय सरकारलाई पहल गर्नेछौं ।

नेवारी वास्तुकला शैलीका घरहरू निर्माण गरेर मल्लकालीन मापदण्ड लागू गर्ने भन्नु भएको थियो । त्यो योजना कहाँ पुग्यो ?

तपाईंले देख्नु भएकै छ प्रशासनिक भवन पुरात्तात्विक रूपमा निर्माण गरेका छौं । मल्लकालीन संरचना फेरि ब्युँताउनका लागि पुरात्तात्विक रूपमा घर बनाएबापत एक लाख रुपैयाँको अनुदान दिएका छौं । आमजनताले त्यो लिएको अवस्था छैन । आगामी दिन हामी पुरात्तात्विक सम्पदा क्षेत्र घोषणा गरेर पुरात्तात्विक घर निर्माण गर्न नगरपालिकातर्फबाट थप अनुदानको व्यवस्था गर्नेछु ।

स्वास्थ्यमा थप के गर्ने योजनामा हुनुहुन्छ ?

दिर्घरोगीलाई नगरपालिकाबाट उपलब्ध गराउँदै आएको प्रति व्यक्ति २५ हजार रुपैयाँबाट बढाउँदै लैजाने योजना छ । सुगर, प्रेसरलगायतका रोगीहरु जाँच गर्न निजी क्लिनीक धाउनुपर्ने बाध्यता छ । त्यस्ता बिरामीका लागि उपचारमा सहज बनाउन हेल्थपोस्ट लगायत स्वास्थ्य संस्थामा ल्याबको व्यवस्थापन गरेर निःशुल्क उपचार गर्ने योजना छ । शिक्षाका लागि नगरपालिकाको तर्फबाट उत्कृष्ट विद्यार्थीमध्ये प्रत्येक वर्ष एमबीबीएस र इन्जिनियर अध्ययन गर्न छात्रवृतिको व्यवस्थापन गर्नेछु ।

कृषि क्षेत्रमा के गर्ने योजनमा हुनुहुन्छ ?

हाम्रो नगरपालिका कृषिको पकेट एरिया भएको र यहाँ उत्पादन हुने तरकारी सिधैं काठमाडौं जाने गरेको छ । हामी तरकारी बजार निर्माण गर्दैछौं वडा नम्बर ११ मा । तरकारी संकलन केन्द्र र किसानले उत्पादन गरेको तरकारी काठमाडौंसम्म पुर्‍याउन नपर्ने गरी आन्तरिक खपत गर्ने र आयात निर्यात पनि त्यहीँबाट गर्ने व्यवस्थापन गर्नेछु ।

उद्योग खोल्ने बारेमा के योजना छ ?

संघीय सरकारसँग समन्वय गरेर डुकुछापमा औद्योगिक ग्राम स्थापना गर्न बजेट व्यवस्थापन गरिसकेको छु । डिपीआर अनुसार काम अगाडि बढिसकेको छ ।

प्रकाशित : वैशाख २३, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

भड्किलो प्रचारको होडबाजी

गाउँ–सहरको स्वरुप नै बिग्रने गरी फ्लेक्स, पोस्टर र ब्यानर
डिजे बाजा र लाउड स्पिकरमा भोजपुरी गीत घन्काउँदै घरदैलो
लक्ष्मी साह

बारा — वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गरेर चुनाव चिन्ह प्राप्त गरेदेखि उम्मेदवारहरू प्रचारप्रसारका लागि घरदैलोमा छन् । जिल्लाका सबै स्थानीय तहमा मतदाता रिझाउन लागि परेका उम्मेदवारहरूबीच प्रचार शैलीलाई भने भड्किलो बनाउने होडबाजी नै चलेको छ । हरेकजसो चोक तथा गल्लीहरूमा स्वरुप नै बिग्रनेगरी फ्लेक्स, ठूलाठूला पोस्टर र ब्यानर टाँगिएका छन् ।

डिजे बाजा, लाउडस्पिकरमा चुनावी र भोजपुरी गीत घन्काउँदै घरदैलो र र्‍याली भइरहेको छ । जसका कारण गाउँ, सहर सबैतिर ‘कोलाहल’ कै वातावरण बनेको स्थानीयले गुनासो गरेका छन् ।

‘यतिसम्म कोलाहल मच्चिएको छ कि, कानै थुनेर बस्नु पर्ने स्थिति छ,’ कलैया बजारका इलेक्ट्रोनिक्स व्यवसायी मिथलेश स्वर्णकारले भने, ‘देखासिकीले सानादेखि ठूला पार्टीका उम्मेदवारसम्मले समूहमै भड्किलो र रंगीचंगी प्रचारशैली अपनाइरहेका छन् । चुनावी आचारसंहिताको न पालना भएको छ, न अनुगमन र नियमन नै छ ।’ टेम्पु र चारपांग्रे गाडीमा ब्यानर र झन्डा टाँगेर लाउडस्पिकरमा भोजपुरी गीत र सेर चर्को आवाजमा बजाउँदै प्रचार भइरहेको उनले सुनाए ।

भड्किलो प्रचार शैली नअपनाउन निर्वाचन आयोगले आचारसंहिता जारी गरे पनि उम्मेदवारहरूले त्यसको बेवास्ता गरिरहेका छन् । आचारसंहिताको बेवास्ता भइरहँदा त्यसको पालना गराउने नियामक अधिकारी भने मौन छन् । नियमन गर्न नागरिकस्तरबाट दबाब बढे पनि सरोकारवालाहरू मुकदर्शक भएर बसेको सर्वसाधारणको आरोप छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार बोलाएको सर्वपक्षीय बैठकमा समेत आचारसंहिता पालनामा कडाइ नगरिएको/नगराइएको भन्दै आलोचना भएको थियो ।

बैठकमा सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन अधिकारीहरू सहभागी थिए । त्यसमा साना दलका प्रतिनिधिले आचारसंहिता उल्लंघन भइरहेकोमा आक्रोश पोखेका थिए । नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्यद्वारमै ठूला पार्टीका उम्मेदवारले आचारसंहिता उल्लंघन हुनेगरी प्रचार शैली अपनाइरहेको भए पनि नियमन नभएको आरोप लगाए ।

गत वैशाख ११ र १२ मा मनोनयन दर्ताको क्रममा होस् या त्यसयताका चुनावी र्याली, आमसभा र घरदैलो कार्यक्रममा होस्, बालबालिकाहरूको प्रयोग बढ्दो छ । विद्यालय बिदा भएकाले बालबालिकाहरू दलको चुनाव चिह्न अंकित झन्डा लिएर दलका कार्यक्रममा सहभागी भएको देखिन्छ । चुनावी प्रचार, सभा, सम्मेलनमा बालबालिकाको प्रयोग गर्नु अवैधानिक भए पनि दलहरू त्यसप्रति सजग नदेखिएको बालअधिकारकर्मी बृजमोहन कुसवाहाले बताए ।

सहायक निर्वाचन अधिकृत इन्द्र योङहाङले मापदण्डभन्दा बाहिर गएर भड्किलो प्रचार शैली नअपनाउने भनेर दल र उम्मेदवारहरूले बुधबार सामूहिक प्रतिबद्धता जनाएको बताए । आचारसंहिता उल्लंघनमा अब कमी आउने उनले विश्वास व्यक्त गरे । ‘अति भयो भने कारबाहीतर्फ जान्छौं,’ उनले भने, ‘तर कारबाही गर्न लिखित उजुरी चाहिन्छ, उजुरीबिना नियमन र कारबाही गर्न सम्भव छैन ।’

प्रकाशित : वैशाख २३, २०७९ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×