रसुवामा आइपुग्यो मतपत्र

वैशाख १८, २०७९

बलराम घिमिरे

रसुवा — स्थानीय तह निर्वाचनका लागि रसुवा जिल्लामा शनिबार मतपत्रसहितको निर्वाचन सामग्री आइपुगेको छ ।

नेपाली सेनाको सुरक्षामा स्थलमार्ग हुँदै मतपत्र ढुवानी गरेर जिल्लामा ल्याइएको हो ।

रसुवा जिल्लाको लागि ४५ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । जिल्लामा आइपुगेको मतपत्र पहिला रुजु गरिने छ । 'रुजु गर्ने काम सकिएपछि मतदान केन्द्रको मतदाता संख्या अनुसार पोको पारेर मतपत्र छुट्याइने छ । त्यसपछि मतदान अधिकृतको जिम्मामा निर्वाचन सामाग्रीसहित मतपत्र मतदान केन्द्रमा पठाइने छ', नेपालले भने ।

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ५६ महिला मतदाता रहेका छन् । त्यस्तै ३४ मतदानस्थल  र ५१ मतदान केन्द्र रहेको छ ।

मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्री पनि जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले बताए ।

जिल्लामा आइपुगेका निर्वाचन सामाग्रीहरुमा मतपत्र, मतपेटिका, मतदाता नामावली, मसी, स्वस्तिक छाप, रबर म्याट, सियो–धागो, लाहा छाप, क्याल्कुलेटर, घडीलगायतका निर्वाचनको लागि चाहिने सम्पूर्ण सामाग्री रहेका छन् । 'छिटफुट बाहेका सम्पूर्ण सामाग्री आइसकेको छ,' उनले भने । निर्वाचन सामग्री पोका बनाइ तयारी अवस्थामा राख्ने काम पनि भइरहेको छ । 

स्थानीय तह निर्वाचन २०७९

बलराम

Link copied successfully