‘अघिल्लो निर्वाचन जितेर गएकाहरू पाँच वर्षसम्म फर्केनन् । तपाईंहरू के गर्नुहुन्छ ?’
अछाम — स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूले चुनाव चिन्ह लिएर घरदैलो कार्यक्रम सुरु गरेका छन् । अछामको दुर्गम ढकारी गाउँपालिका–७ थाराका बासिन्दा यसपालि गाउँ आउने उम्मेदवारलाई एउटा प्रश्न सोध्ने तयारी छन्, ‘अघिल्लो निर्वाचन जितेर गएकाहरू पाँच वर्षसम्म फर्केनन् । तपाईंहरू के गर्नुहुन्छ ?’ ०७४ मा मत दिएर जिताएका जनप्रतिनिधिले चुनावपछि फर्केर नहेरेको उनीहरूको गुनासो छ ।
थारा गाउँमा यसपालि कुनै उम्मेदवार पुगेका छैनन् । थारा गाउँका बासिन्दाले अहिलेसम्म विकासको आभास गर्न पाएका छैनन् । साविकको ढुंगाचाल्ना गाविस अन्तरगत पर्ने यो गाउँ अहिले छुट्टै वडा भएको छ । दलित समुदायको बसोबास रहेको यो गाउँका अधिकांश पुरुषहरू कामको खोजीमा भारत जाने भएकाले गाउँमा महिला, बृद्धबृद्धा र बालबालिका मात्रै छन् । यो गाऊँ सदरमुकाम मंगलसेनबाट करिब १६ कोष छ ।
‘मासिक तलब खाने महिलाहरू यो गाउँमा छैनन् । धेरै भए ३ कक्षासम्म पढेकाहरू छन्,’ स्थानीय जुना दमाइले भनिन्, ‘बिहेबारी पनि ओल्लोपल्लो गाउँबाट हुन्छ । रोड खनेरमात्र विकास हुन्छ भन्ने नेतालाई यसपटक भोट दिने की नदिने भन्ने अलमलमा परेका छौं ।’ उनका अनुसार स्थानीय तह गठनपश्चात टोलटोलमा जनप्रतिनिधि भए पनि थारा गाउँका महिलाले आफ्ना समस्या बारे बोलिदिने मानिस भेटाएका छैनन् । ‘गाउँमा स्कुल स्थापना भए पनि अझै छोरीलाई पढाउने वातावरण बनेको छैन,’ स्थानीय चन्दा दमाइले भनिन्, ‘यहाँ स्कुल पढाउनुपर्छ भन्ने न कोही आएका छन् । हाम्रो त उमेर गयो । अक्षर चिन्ने धोको पुरा भएन । अब आउने उम्मेदवारसँग यी सबै कुरा गर्ने इच्छा छ ।’
स्थानीयलाई दैनिक उपभोग्य बस्तु सहजै पाउन पनि सास्ती छ । ‘आयोडिनवाला प्याकेटको नुन खानु पर्छ भन्ने त थाहा छ । तर ३५ रुपैयाँ पोका किन्नु पर्छ । अहिले पनि ढिके नुन नै खान्छौं,’ स्थानीय धना दमाइ भन्छिन्, ‘हामी दुर्गम गाउँको एक कुनामा बसेका छौं । यहाँ सामान के पाइन्छ । मुल्य कस्तो छ भनेर कसैले चासो दिँदैनन् ।’
विकट गाउँ ढुंगाचाल्नाको थाराका महिलाहरू स्वास्थ्यको पहुँचबाट पनि टाढा छन् । अन्धविश्वास, कुरिती, कुसंस्कारले यहाँका महिलालाई कसिलो गरि जेलेको छ । अहिले पनि यहाँ एक दम्पतीका ५/६ सन्तान छन् । बालविवाह झन् बढेको स्थानीय नै बताउँछन् । ‘२१ वर्षकी मेरा ३ छोरी छन् । समाजलाई मान्नै पर्यो । छोरा नपाइ त सुखै छैन,’ स्थानीय धर्मी दमाइले भनिन्, ‘यहाँ सन्तान जन्माउने क्रम पहिले जस्तै हो । केही बदलिएको छैन । चुनाव जितेर गएकाहरू कहिल्यै फर्किएनन् ।’
दुर्गम क्षेत्रका मतदाता मात्रै होइन नगरपालिकाका मतदाता पनि नेताले विकास गर्छन् भन्नेमा विश्वास गर्दैनन् । सरकारमा स्थायित्व नभएसम्म विकास हुनै सक्दैन र आश्वासन मात्र आउने उनीहरू बताउछन् । मंगलसेन नगरपालिका–१३ का मतदाताले शिक्षा, स्वास्थ्य, सडक र आवासको प्रत्याभूति गर्ने उमेदवारलाई मात्र मत दिने बताएका छन् ।
विगतको बस्ती गाविस अहिले मंगलसेन नगरपालिकामा गाभिए पनि नगरपालिकामा हुनुपर्ने कुनै पनि पूर्वाधार विकास हुन सकेको छैन् । स्थानीयले आधा दिन हिँडेर बजार झर्नुपर्छ । सडक खनिए पनि पुगे पनि गाडी चल्दैनन् । भौगोलिक रुपमा आफ्नो क्षेत्र निकै विकट रहेको र समुदायको शिक्षा र स्वास्थ्यमा पहुँच पुग्न नसकेको मंगलसेन नगरपालिका–१३ का रामबहादुर धामीले बताए । ‘शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको असुबिधाकाले हामी निकै कठिन अवस्थाका बीच बाचिरहेका छौं,’ उनले भने । पछिल्लो पटक केही सुधार भए पनि खेतियोग्य जमिनको अभाव, खोलामा पुल नहुँदा यात्रामा समस्या, यातायातको असुविधा, उचित स्वास्थ्य उपचारको व्यवस्था नहुँदा समस्याका कारण अस्पताल नपुगी मर्नुपर्ने बाध्यता कायमै रहको स्थानीय प्रेमबहादुर धामीको गुनासो छ । ‘हाम्रा समस्या जस्ताको तस्तै छन् । अबको चुनावमा उम्मेदवारसँग दोहोरो कुरा गरेर मात्रै भोट दिन्छौं,’ उनले भने ।
