संयोजक रामचन्द्र पौडलकै पत्र कार्यान्वयन भएन, पालिकामा आ–आफ्नै उम्मेदवार
पोखरा — कास्कीका स्थानीय तह र वडामा गठबन्धनभित्र सिट बाँडफाँटबारे पाँच दलीय गठबन्धनका संयोजक रामचन्द्र पौडेलको पत्र कार्यान्वयन नहुँदा आआफ्नै उम्मेदवार उठ्ने स्थिति बनेको छ ।
संयोजक पौडेलले बाँकी रहेका पालिका प्रमुख, उपप्रमुख र महानगरका वडामा सिट बाँडफाँट गर्ने खाकासहितको पत्र कांग्रेसका गण्डकी प्रदेश संयोजक शुक्रराज शर्मालाई बिहीबार नै पठाएका थिए । उक्त पत्रमा पोखरा महानगरका ३३ मध्ये कांग्रेसले २०, माओवादी केन्द्रले ५, नेकपा (एकीकृत समाजवादी) ले ४ र जनता समाजवादी पार्टी (जसपा) ले एउटा वडाको अध्यक्ष बाँडफाँट गर्ने र बाँकी ३ वटामा मित्रवत प्रतिस्पर्धा गर्ने उल्लेख थियो ।
उक्त पत्र बमोजिम कांग्रेसका गण्डकी संयोजक शर्माले आफ्नो भागमा परेको बाहेकका वडाका उम्मेदवारको मनोनयन फिर्ता गरिदिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्नुपर्थ्यो । शुक्रबारसम्मको समय हुँदा समेत उनले पत्र पठाएनन् । ती वडामा कांग्रेसका उम्मेदवारले मनोनयन फिर्ता लिएनन् । माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष कांग्रेसले राखेर उपाध्यक्षमा माओवादी दिने पौडेलको पत्रमा उल्लेख भए पनि प्रक्रिया अघि बढेन । मादी बाहेकका गाउँपालिकामा कांग्रेसका उपाध्यक्षका उम्मेदवारले मनोनयन फिर्ता गरेनन् ।
माओवादी नेता दीपक कोइरालाले गठबन्धनका संयोजककै पत्र कार्यान्वयन गर्न गण्डकी र कास्की कांग्रेसले बेवास्ता गर्दा कास्कीमा गठबन्धन बन्ने स्थिति नभएको बताए । ‘प्रधानमन्त्रीले गठबन्धनका संयोजकलाई जिम्मा लगाएपछि उहाँको पत्रलाई कार्यान्वयन गर्न शुक्रबार पाँच बजेभित्र कांग्रेसले आफ्नो उम्मेदवारको मनोनयन फिर्ता गरिदिन निर्वाचन कार्यालयलाई पत्र लेख्नुपर्थ्यो,’ उनले भने, ‘प्रदेश संयोजकले पत्र नपठाउने, कास्की कांग्रेसका अध्यक्ष देखा नै नपर्ने स्थिति भयो ।’
कांग्रेसले उम्मेदवारी फिर्ता नगरेपछि माओवादी केन्द्र र जसपाले समेत आ–आफ्नो उम्मेदवारी कायमै राखेका छन् । पोखरा महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार भए पनि अब ३३ वटा वडामा भने आ–आफ्नै उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । यसअघि प्रमुख र उपप्रमुखबाहेक सबै वडामा गठबन्धनका पाँच दलले आ–आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराएका थिए । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबारसम्म नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले मात्रै मनोनयन झिके ।
बिहीबार कांग्रेस नेता पौडेलको पत्रबारे सुइँको पाएपछि कांग्रेस कार्यकर्ताले बिहीबार गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अवरोध पुर्याए । कांग्रेसको तेर्सापट्टीमा रहेको गण्डकी प्रदेश कार्यालयमा समेत कार्यकर्ताले बिहीबार तोडफोड गरे । कार्यालय तोडफोड गर्ने वडा नम्बर २४ का २३ कार्यकर्तालाई पक्राउ गरेर प्रहरीले शुक्रबार छाडेको छ ।
माओवादी केन्द्रका कास्की संयोजक बखानसिंह गुरुङले कांग्रेसकै कारण कास्कीमा गठबन्धनबीचको सहमतीले मूर्त रुप नपाएको बताए । ‘सहमती बमोजिम वडा बाँडफाँटमा कांग्रेसले रुची देखाएन,’ उनले भने, ‘केन्द्रिय गठबन्धनको निर्देशन पालना नगरेपछि हामी पनि पालना गर्न बाध्य छैनौं ।’ केही वडामा भने सहकार्य भएको उनले बताए । उनका अनुसार वडा नम्बर ६, २५, १६, १९ लगायतमा माओवादीले सदस्य लिने गरी स्थानीयस्तरमा सहमति भएका छन् । अन्तिम नामावली आइसकेपछि नयाँ रणनीति बनाएर अघि बढ्ने उनले बताए ।
जसपाले ९ वटा वडाध्यक्ष सहित १५ वडामा दिएको उम्मेदवारी फिर्ता लिएन । पार्टीका केन्द्रीय सदस्य हेमबहादुर थापा स्वयं ३३ नम्बर वडाका अध्यक्ष उम्मेदवार हुन् । यसपछि पनि जिल्लामा गठबन्धनबीच कुनै सहमती भएर निस्कृय बस्ने प्रस्ताव आउन सक्ने भए पनि आफ्नो पार्टी त्यो पक्षमा नरहेको थापाले बताए । कास्कीका अन्य पालिकामा समेत गठबन्धन हुन सकेन ।
मादी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच गठबन्धन भए पनि वडाहरूमा भएन । रुपा, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा पनि गठबन्धनका दलको आ–आफ्नै उम्मेदवार छन् । यसबारेमा कांग्रेस गण्डकीका संयोजक शर्मालाई सम्पर्क गर्दा उनको फोन उठेन ।
कांग्रेस कास्की सभापति किशोरदत्त बरालले भने केन्द्रको पहिलेको सर्कुलर अनुसार नै गठबन्धनलाई अगाडि बढाएको बताउँछन् । ‘मिल्ने ठाउँमा गर्ने, नमिल्ने ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्ने नै थियो,’ उनले भने, ‘स्थानीय साथीहरूले संगठनको लागि जे राम्रो हुन्छ त्यही गर्नुभयो ।’ पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन् ।
